महिला उद्यमीको प्रदेशस्तरीय प्रदर्शनीको ८औं संस्करणमा बल्ल स्पोन्सरको प्रोत्साहन

नेपालगन्ज : नाफा कमाउने उद्देश्यले आयोजना गरिने मेला वा प्रदर्शनीमा स्पोेन्सरको लर्को नै लाग्छ । स्वरोजगार हुन र आर्थिक रुपमा आत्मनिर्भर हुन चुलोचौकोसँगै उद्यम गर्ने महिलालाई प्रोत्साहनको कमी छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणमा मात्र बल्ल स्पोन्सरको साथ मिल्ने जनाएको छ । प्रदर्शनीको आर्थिक संयोजक शशी स्वाँर भन्छिन्, ‘यस पटक बाँकेका प्रतिष्ठित औद्योगिक प्रतिष्ठानले स्पोन्सर गर्ने आश्वासन दिएका छन् । कति रकम दिन्छन् भनेका छैनन् । दिन्छु भनेका छन् ।’ संघलाई भवन बनाउन, कोसेली घर बनाउन र हरेक वर्ष प्रदर्शनीमा नेपालगन्ज उपमहानगरपालिकाले सघाइरहेको छ । संघकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा गत वर्ष लुम्बिनी प्रदेशको मन्त्रालयले सुरुमा चार लाख रुपैयाँ दिन्छु भने पनि नदिएको गुनासो गर्छिन् ।
पश्चिम नेपालका महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रदर्शनीमा सहयोग र सहकार्य गर्र्न कसैले चासो नदिएको संघको गुनासो छ । संघ बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेत महिलाको चुलोचौकाका सीपलाई बजारीकरण गर्न सघाएको दाबी गर्छिन् । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा ८औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी पुस २४ देखि २८ गतेसम्म आयोजना हुने प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिइन् । प्रदर्शनीमा यस पटक ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् । प्रदर्शनी आयोजना गर्नको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोक गर्ने अनुमान गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ ।