पठन संस्कृतिबारे नेपालगन्जम बहस

नेपालगन्ज : पठन संस्कृतिबारे नेपालगन्जमा बहस गरिएको छ ।
सीटीएफ नेपालले शनिबार नेपालगन्जमा पठन संस्कृति विकास सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनद रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, सचिव मणि अर्याल, अवधि साहित्यकार विष्णुलाल कुम्हारलगायतले पठन संस्कृति विकास गर्न समय सापेक्ष रुपमा उमेर समूह अनुसारको पुस्तक प्रकाशन गर्नुपर्ने, प्रविधिमा आधारित ई–पुस्तक प्रकाशित गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा पठन संस्कृति विकास कार्यक्रम रिडिङ एण्ड डेभलपमेन्ट फोरमका संयोजक बद्रीप्रसाद ढकालले पठन संस्कृति निर्माणका लागि प्रस्तावित सोच पत्र प्रस्तुत गरेका थिए । संयोजक ढकालले पठन संस्कृतिबारे यसअघि इटहरि, काठमाडौं, पोखरा हुँदै नेपालगन्जमा कार्यक्रम गरिएको र आगामी दिनमा चितवन, बिर्तामोड, बुटवल, दाङ र भक्तपुरमा पनि कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा बाँकेका लेखक, पत्रकार, शिक्षक र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।