डुडुवाका ५ र ६ का वडाद्वारा ज्योति विकास बैंकसँग वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग

रमेशकुमार यादव । बालापुर
बाँकेको डुडुवा गाउँपालिकाले वडा नं. १ देखि ४ सम्म मात्र वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएपछि वडा नं. ५ र ६ का वडाध्यक्षले बुधबार ज्योति विकास बैंकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गर्दै पत्राचार गरेका छन् ।
वडा नं. ५ का अध्यक्ष झंकबहादुर थापा, वडा सदस्य काशीराम यादव, वडा नं. ६ का जनप्रतिनिधिको टोलीले ज्योति विकास बैंकको नेपालगन्जस्थित शाखा कार्यालय पुगेर बैंकका अप्रेशन इन्चार्जलाई वडामै आएर भत्ता वितरण गर्न दुबै वडाले सयुक्त रुपमा पत्र हस्तान्तरण गरेका हुन् । वडा नं ५ का वडाध्यक्ष झंकबहादुर थापाले वडावासीको सामाजिक सुरक्षा भत्तामा सरल र सहज पहुँचका लागि बैंकसँग लिखित रुपमा माग गरिएको बताए । वडाले आगामी माघ महिनाको सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न बैंकसँग आग्रह गरेका छन् ।