नेपालगन्ज उप-महानगरसँग सहकार्यमा स्थापनाको ६३ वर्षपछि राससद्वारा मातृभाषामा समाचार !

Photo : RSS

नेपालगन्ज : नेपालको सरकारी स्वामित्वको न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले सोमबारदेखि मातृभाषा अवधिबाट पनि समाचार सेवा सुरू गरेको छ ।

सरकारी स्वामित्वका गोरखापत्र दैनिक, रेडियो नेपाल, नेपाल टेलिभिजनपछि मातृभाषालाई स्थान दिने रासस कान्छो आमसञ्चार माध्यम बनेको छ । स्थापनाको ६३ वर्ष पूरा हुनै लागेको राससले नेपाली र अंग्रेजी भाषामा मात्रै समाचार सेवा दिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा राससले आफ्नो समाचार बुलेटिनमा पहिलो पटक मातृभाषाको रुपमा अवधीलाई चयन गरेकोे छ ।

काठमाडौंको भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अवधी भाषाकोे समाचार सेवाको शुभारम्भ गरेकी हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ मातृभाषा रहेकामा तराईमा बोलिने अवधि भाषी कूल जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत छन् ।
आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताएका थिए । राससको मातृभाषा सेवा सुरु गरेकोमा बधाइ दिँदै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले राससको सेवा क्रमशः निल्शुल्क प्रदान गर्नेबारे पनि सोचौं भन्ने प्रस्ताव गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

१ पुस २०१६ सञ्चालनमा आएको नेपालको पहिलो समाचार समिति नेपाल संवाद समिति र ३० वैशाख २०१७ बाट सञ्चालनमा आएको सगरमाथा संवाद समितिलाई गाभेर ७ फागुन २०१८ देखि राष्ट्रिय संवाद समिति (पछि नाम परिवर्तन गरी हालको राष्ट्रिय समाचार समिति)को स्थापना भएको थियो ।