अपाङ्गता भएका ब्यक्तिलाई लायन्स क्लब इनोभेटिभको ‘न्यानो’सहयोग

बानियाभार (बाँके) : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभले बाँकेमा अपाङ्गता भएका ब्यक्तिलाई जाडोमा ‘न्यानो’सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर मुकुट ढकाल ढकालको प्रमुख आतिथ्यतामा बुधबार बैैजनाथ गाउँपालिका ४ बानियाभारको दीर्घकालीन अपाङ्ग पुनस्र्थापना केन्द्रका २१ जनाका लागि कम्मल, पिफर्म र डाईपर वितरण गरिएको हो । सो अवसरमा गर्भनर ढकालले शारिरीक र मानसिक रुपमा अशक्तता भएका ब्यक्तिहरुको सेवाका लागि खोलिएका सामाजिक संघसंस्थाहरुलाई बाँके र बर्दियामा रहेका लायन्स क्लबले केन्द्र सूचीकृत गरेर सहयोग गर्ने परिपाटीको सुरुवात गरिने बताए ।
क्लब अध्यक्ष सुशीला चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापी कार्यक्रमकी संयोजक सरिता शाक्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।
दीर्घकालीन अपाङ्ग पुनस्र्थापना केन्द्रका पैरवी संयोजक टेकराज जैसीका अनुसार संरक्षक नभएका शारिरीक रुपमा अशक्त रहेका १५ पुरुष र २ महिलालाई केन्द्रमा रहेका छन् । संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको हो । जैसीले केन्द्रलाई लुम्बिनी प्रदेश सरकारबाट पनि सहयोग हुने गरेको बताए ।