माघे संक्रान्ति पर्व मनाइयो

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुले सोमबार माघे संक्रान्ति पर्व मनाएका छन् ।
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्वमा स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ।
सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। माघे संक्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ।
माघीलाई थारु जातिले नयाँ वर्षको रुपमा पनि मनाउँछन् । गाउँमा बडघर, चिराकी जस्ता सामाजिक पदका ब्यक्तिको चयन पनि माघ महिनादेखि सुरु हुन्छ । माघे संक्रान्तिको अघिल्लो दिनदेखि थारु समुदायमा माघीको उत्सव सुरु हुन्छ । गाउँगाउँमा मघौटा नाच नाचिन्छ ।माघीको अवसरमा पश्चिम तराईका थारु बाहुल्य क्षेत्र बर्दियाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको राप्तीसोनारीको भुवर भवानीलगायतका स्थानमा माघी मेला र महोत्सवहरु लागिरहेका छन् ।
माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको थियो । लुम्बिनी प्रदेश सरकारले २ माघमा पनि प्रदेशभरी माघीको अवसरमा विदा दिएको छ ।