कफिसँगै कुटुम्ब क्याफेमा पुस्तक पढ्ने व्यवस्था !

नेपालगन्ज : कफिको पारखी हुनुहुन्छ ? अनि पुस्तक पनि पढ्ने बानी छ ? नेपालगन्जमा कफि अम्मली पुस्तक प्रेमीले अब एकैथलोमा बसेर दुबै स्वाद पाउनेछन् । धम्बोझी चोकबाट मुस्किलले दुई सय मिटरको दुरीमा उत्तर पूर्वमा भर्खरै खुलेको कुटुम्ब क्याफेमा यस्तो सुविधा छ । बुधबारदेखि औपचारिक रुपमा शुभारम्भ हुने यो क्याफे अरु भन्दा यस अर्थमा फरक छ किनकि यहाँ कफिको चुस्कीसँगै आफूलाई मन परेको पुस्तक पढेर ज्ञानसँगै आनन्द लिन पाइने सुविधा छ । यो क्याफे पुस्तकालय र कफिशपको मिश्रित अवधारणा हो ।

‘अध्ययनशील बौद्धिक वर्गलाई लक्षित गर्दै बुक क्याफे सञ्चालन गरेका हौं । दुई तले भवनमा गरी झन्डै एक सय जनाले एक साथ कफि पिउन सक्छन्’, सञ्चालक विजय भण्डारी (वासु भण्डारी) भन्छन्, ‘अहिले कफि पिउँदै आफ्नो रोजाइको पुुस्तक पढ्न सकिनेछ । कफिसपमा पुस्तक कर्नर राख्नेदेखि क्याफे क्लब बनाएर सदस्यलाई पुस्तक र कफिमा डिस्काउन्ट दिने योजना छ । यी सबै योजना नियमित ग्राहकको रोजाइ र माग अनुसार बन्नेछन् ।’
भण्डारी नेपालगन्जका ‘नामी’ पुस्तक व्यवसायी हुन् । ‘माउण्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस’ नामको उनको पुस्तक पसल छ । क्याफे र पुस्तक पसल एउटै घरको भुँइ तलामा छ । ‘क्याफेका ग्राहकले पुस्तक पसलबाट रोजाइको पुस्तक मागेर पढ्न सक्छन्’, भण्डारीले प्रष्ट पारे, ‘पढिसकेर त्यो किताब फर्काउनु पर्नेछ । मन परेको पुस्तक किन्न पनि सकिनेछ ।’

सहरमा यसअघि खुलेका क्याफेले पत्रपत्रिका र केही पुस्तक राखे पनि रोजाइकै पुस्तक पाइने गरी खुलेको कुटुम्ब नै बाँकेको पहिलो बुक क्याफे भएको उनले दाबी गरे । क्याफेमा नयाँ प्रकाशित पुस्तकदेखि दुर्लभ ऐतिहासिक पुस्तक पढ्ने ब्यवस्था मिलाइने उनी बताउँछन् ।