डुडुवा गाउँपालिकाको अदूरदर्शी नीतिले ठेक्का अवधि सकिँदा पनि बनेन शीत भण्डार

रमेशकुमार यादव । बालापुर
बाँकेको डुडुवा गाउँपालिकाको अदूरदर्शी नीतिका कारण बहुप्रतिक्षित शीत भण्डार निर्माण योजना अलपत्र परेको छ ।
डुडुवा ६ हिरामिनियामा शसस्त्र प्रहरी बलको बीओपी नजिकै शीत भण्डारको भवन निर्माणाधीन छ । ७ करोड ६८ लाख ५० हजार ३०७ रुपैयाँ बजेट रहेको शीत भण्डारको पारामाउण्ट नेचुरल जेभी काठमाडौंले १९ असार २०८० भित्र निर्माण सम्पन्न गर्नेगरी १७ असार २०७८ मा ५ करोड ८९ लाख २८ हजार ५५२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारले गत आर्थिक वर्षको अन्त्यमा पेश्की वापत १ करोड १८ लाख ५७ हजार २४५ रुपैयाँ भुक्तानी भइसकेको छ । बिहीबार दिउँसो शीत भण्डार भवन निर्माण क्षेत्रमा मेरोखुुसी संवाददाता पुग्दा शीत भण्डारमा फलामे ट्रस बनाएको र पर्खाल लगाउने बाहेकका कामहरु भएको पाइएन । ठेक्का अवधि सकिँदा समेत शीत भण्डार कहिले बन्ला भन्ने छाँट देखिँदैनथ्यो । शीत भण्डार समयमै नबन्नुको मुख्य कारण रहेछ, जग्गा ।
३३ धुर र सात धुर गरी दुई बिगाहा क्षेत्रफलमा निर्माणाधीन शीत भण्डारमा सरकारी जग्गा भनिएता पनि उक्त जग्गाको जग्गा धनी प्रमाणपूर्जा डुडुवा गाउँपालिकासँग छैन । बन्दै गरेको शीत भण्डार भवन कसको स्वामित्व रहने अहिलेसम्म एकिन छैन ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको डुडुवा गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को लेखापरीक्षण प्रतिवेदनले पनि शीत भण्डार सञ्चालन र व्यवस्थापन कसरी हुने ? सो को लागत कसले र कसरी व्यहोर्ने सम्बन्धमा कुनै कार्यविधि नबनेकाले संरचना निर्माण र सो उपयोग र संरचनामा भएको लगानीबाट पूँजी निर्माण र सो उपयोगबाट प्रतिफल प्राप्त हुन सक्ने विश्वासनीय आधार नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘सञ्चालन र व्यवस्थापन सम्बन्धमा कुनै कार्यविधि नबन्नाले यस्ता खालका संरचना निर्माणमा हुने लगानी खेर जाने सम्भावना रहेको देखिन्छ ।’ महालेखाले जग्गाको स्वामित्व स्थानीय तहमा ल्याउन पहल गर्न र शीत भण्डार सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउन भनेको छ ।