खाने होइन त २० रुपैयाँमा एक डल्लो मःम !

सिद्धार्थ कटेज नेपालगन्जमा सञ्चालित मःम फेस्टिवलमा ४० थरीका मःमका परिकार, छानी छानी खान पाइने

नेपालगन्ज : के तपाई मःमको पारखी हो ? अनि फरक फरक स्वादका मःम खान रुचाउनु हुन्छ ? रेष्टुरेन्टमा कम्तीमा हाफ प्लेट मःम किन्नुपर्छ । मन नपरे त्यो पनि खेर जान्छ । मःम चाखेर धेरै स्वाद फेर्ने तपाईको इच्छा पूरा गर्न अब एकैपटक धेरै प्लेट मःम अर्डर गर्नु पर्दैन । एउटा एउटा डल्लो मःम पनि किनेर खान पाउनुहुनेछ । सिद्धार्थ कटेजले बिहीबारदेखि सुरु गरेको मःम फेस्टिवलमा ग्राहकलाई फरक फरक स्वादका मःम खुवाउन एउटा एउटा डल्लो किन्ने व्यवस्था गरेको छ ।

एक डल्लो मःम खान कम्तीमा २० रुपैयाँदेखि बढीमा ४५ रुपैयाँ खर्च गर्नुपर्नेछ । तरुल, गाँजर, फूलगोभी, केरा, सखरखण्डबाट बनेको मःमको एउटा डल्लो २० रुपैयाँमा नै खान पाइन्छ । मटन मःम ४५ रुपैयाँ र चीज मःम एक डल्लोलाई ४० रुपैयाँ मूल्य तोकिएको छ । फेस्टिवलमा कोदो, फापर, तरुल, दिउँदे सिमी, केरा, गाँजर, चुकुन्दर, पालक, चिकन, मटन, फिसलगायतका विभिन्न ४० प्रकारका स्थानीय परिकारबाट बनेका मःमःहरु स्टलमा राखिएको सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक निर्देशक केशव न्यौपानेले बताए । मःमःका रङ र आकार पनि नयाँ हुनेछन् । अचार पनि फरक फरक स्वादका हुने सद्धार्थ गु्रप अफ हस्पिटालिटीका कर्पोरेट सेफ एलबी कौशल बताउँछन् । फेस्टिवलमा विभिन्न स्थानीय उत्पादनबाट बनाइएका मःमःका फरक फरक स्वाद पस्किरहेको उनले जानकारी दिए ।

फेष्टिवलमा कम्युनिटी कुकिङ अन्तर्गत मःम बनाउने प्रतियोगिता पनि हुनेछ । आयोजकका अनुसार, मःम क्वीज, लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट लगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुनेछ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बिहीबार उद्घाटन गरेको फेटिवल शनिबारसम्म तीन दिन चल्नेछ ।