स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँकेकै उत्कृष्ट

रमेशकुमार यादव । डुडुवा
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।
आर्थिक वर्ष २०७९ ०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिवेदनमा डुडुवा गाउँपालिकाले १०० पूूर्णाकमा ९२.२५ प्रतिशत सबैभन्दा धेरै अंक ल्याइ जिल्लाकै पहिलो भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाले स्वमूल्याकंनको कार्यविधि अनुरुप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मूूल्याकन गरिएको हो ।
डुडुवा गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अंक र सहकार्य र समन्वय ३ अंक ल्याएको लिजाको वेभसाइटमा प्रतिवेदन उल्लेख गरिएको छ ।
स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानून, कार्यविधि, निर्णय प्रक्रिया लगायतका कागजातहरुको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरि अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जवी नेपालले बताएका छन् ।
यस्तै, कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन् ।