नेपालगन्जबाट कैलाश मानसरोवर दूरदर्शन उडान सफल (फोटो फिचर)

कैलाश मानसरोवरको दूरदर्शनका बेला खिचिएका दृश्यहरु । तस्बिर सौजन्य : केशव न्यौपाने / होटल सिद्धार्थ

शंकरप्रसाद खनाल । नेपालगन्ज
एक वर्ष अघिदेखिको प्रयासपछि चीनमा रहेको कैलाश मानसरोवरको नेपालगन्जबाट दूरदर्शन हवाइ सेवा सफल भएको छ । सोमबार बिहान ३९ जना भारतीय र केही नेपालीले नेपालगन्जको राँझा विमानस्थलबाट श्री एयरको विमानबाट एक घण्टा कैलाश मानसरोवरको दूरदर्शन गरेका हुन् ।झन्डै दुई सातादेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको नेपालगन्जमा सोमबार बिहानैदेखि घाम लागेपछि मानसरोवरको हवाइ यात्रा सफल भएकोे थियो । तीन दिनदेखि विमान उडाउने तयारी थियो ।

नेपालगन्जको चार तारे सिद्धार्थ होटलको पहलमा भारतको ट्रिप टु टेम्पल, पथ हिल होलिडेसँगको सहकार्यमा सोमबार बिहान श्री एयर लायन्सको चार्टड विमानले एक घण्टाको कैलाश मानसरोवरको दूरदर्शन गराएको भ्रमण टोलीका संयोजक ट्रिप टु टेम्पलका सञ्चालक विकास मिश्रले बताए । उनका अनुसार अनलाइन पाठपूजा डटकम इण्डियाले भारतबाट ल्याएका पण्डित अभिवन त्रिपाठीले सुरुमा नेपालगन्जको बागेश्वरी मन्दिरमा पूजापाठ गरी कैलास मानसरोवर पुग्दा विमानमै र नेपालगन्ज फर्केर होटल सिद्धार्थमा लाख बत्ति बालेर पूजा पाठ गरिएको थियो ।
होटल सिद्धार्थका क्षेत्रीय प्रबन्धक केशव न्यौपान कैलाश मानसरोवरको नेपालगन्जबाट दूरदर्शन सेवा सफल भएपछि लगत्तै अरु उडानका लागि पनि माग भइरहेको बताउँछन् । १६ माघ २०७९ मा नेपालगन्जमा आयोजना गरिएको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा नेपालगन्जबाट कैलाश मानसरोवर दूरदर्शनको उडान भए पनि खराब मौसमका कारण विमान आधा बाटोबाटै फर्काइएको थियो ।