नेपालगन्ज साइकल उत्सवका सहभागीलाई कैलाश मानसरोवर दूरदर्शनको विशेष अफर

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज साइकल उत्सवका सहभागीहरुलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन अवसर दिने भएको छ ।
नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई विशेष अफरसहित आगामी २८ माघमा माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शनको लागि होटल सिद्धार्थसँगको सहकार्यमा ब्यवस्थापन मिलाइएको उत्सवका इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिए।
उत्सवको तयारी अन्तर्गत क्लब अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपालगन्ज साइकल उत्सव अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची महाकाली साइकल यात्रा पूरा गरेका साइकल यात्रीहरुलार्इ रजिस्ट्रेशन शुल्कमा पाँच सय रुपैयाँ, सम्पूर्ण महिला सहभागीलाई पाँच सय रुपैयाँ छुट गर्ने र १५ वर्ष मुनिका सहभागीलाई भने एक हजार रुपैयाँमा सहभागी गराइने निर्णय गरिएको ब्लबका अध्यक्ष सापकोटाले जानकारी दिए । साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्य समिति सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट ब्यबस्थापनको जिम्मेवारी दिइएको छ । शनिबारभित्र फाइनल रुट तय गरिने क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले बताए ।