टुर दी ठाकुरद्वाराको टाइटल स्पोन्सर इभी बिवाइडी

नेपालगन्ज : टुर दी ठाकुरद्वाराको छैठौं संस्करणको टाइटल स्पोन्सर इभी बिवाइडीले गरेको छ ।
नेपालगन्ज साइक्लिङ क्लबले आगामी २५,२६ र २७ माघमा आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव अन्तर्गतको टुर दी ठाकुरद्वारालाई विश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।
इभी बिवाइडीका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभी प्रालि लिमिटेडका सञ्चालक वसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठूलो इभेन्टसँग सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।
क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी ३०० जना साइकल यात्रीहरु इभेन्टमा सहभागी हुने जनाएको छ। कार्यक्रम नेपालगन्ज को बागेश्वरी मन्दिरबाट सुरु भै बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्ज को ठाकुरद्वारासम्म १०० किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताए ।