नेपालगन्ज-जनकपुर प्रबद्धनात्मक उडान सफल

नेपालगन्ज : नेपालगन्ज जनकपुर धार्मिक पर्यटन प्रबद्धनात्मक उडान सफल भएको छ ।नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान सुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज पहिलोपटक नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँकेको आयोजनामा यति एअरलाइन्सले शनिबार दिउँसो २ बजेर ४० मिनेटमा उडान गरेको हो । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर चार्टर हवाई उडान गरिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् ।
लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, लम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, पर्यटन ब्यवासायी, पत्रकारलगायतको टोली पहिलो उडानमार्फत जनकपुर पुगेका हुन् । नेपालगन्जबाट जनकपुर गएको टोलीलाई मिथिला सेवा समाजका अध्यक्ष रामलोचन शाह लगायतका पदाधिकारी एवं सदस्यहरूले स्वागत गरेका थिए ।