इन्डियन आइडलबाट चर्चामा आएकी गायिका मेनुका पौडेलको नेपालगन्जमा लाइभ कन्सर्ट हुँदै

नेपालगन्ज : भारतीय गायन रियालिटि शो इन्डियन आइडलबाट चर्चामा आएकी नेपाली गायिका मेनुका पौडेलको आगामी २७ फागुनमा नेपालगन्जमा लाइभ कन्सर्ट हुने भएको छ । अन्तरालको आयोजनामा फागुन २४ गतेदेखि नेपालगन्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो ।
यो विशेष कार्यक्रमलाई ‘ लेट्स सिङ विथ मेनुका (मेनुका सँगै गाऔं) नाम दिइएको छ – फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ ।
बाद्यवादन टिमसहित मेनुकाको ‘ लाइभ ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट बिक्री गरिनेछ भने अनलाइनबाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।
दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सबैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिइन् । भारतीय गायन रियालिटि शो ‘सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिबेला चुलियो, जब उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।
इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।