कैलालीमा तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरी र सीमाबासीबीच छलफल

भजनी (कैलाली) : सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न कैलालीको भजनीमा शसस्त्र प्रहरी र सीमाबासीबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
भजनी नगरपालिका वडा न ३ कुसुमघाटस्थित शसस्त्र प्रहरी बलको प्रस्ताति गुल्ममा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सीमाबासीसँग शसस्त्र प्रहरी कार्यक्रम अन्तरगत सीमा सुरक्षाको महत्व सीमा अपराध नियन्त्रणबारे छलफल गरिएको हो ।
कार्यक्रममा भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले सहायक पिल्लर नहुँदा नेपालको क्षेत्र छुट्याउन समस्या, खुल्ला सीमा नाका भएका कारण लागूऔषध प्रयोग तथा आसारपसार जटिल समस्या रहेको बताएका थिए । उनले नेपालमा कृषकलाई मल बिउको समस्या रहेकोले कृषकलाई सहुलियत गरिदिन हुन अनुरोध गरे ।
भजनी ७ का वडाध्यक्ष अमरबहादुर कठरियाले खुल्ला नाका रहेकाले वडामा चोरी डकैती हुने गरेकोले दिउँसो र रातिको समयमा सीमा गस्ती बढाउनु पर्ने माग गरे । उक्त वडामा भारतीय नम्बरका गाडी प्रत्येक घरमा रहेकोले उक्त कार्यलाई रोकथाम गर्न उनले माग गरे । त्यसैगरी
भजनी नगरपालिका ८ का वडाध्यक्ष पंकज चौधरी र भजनी ५ का वडाध्यक्ष केशब बुढाले किसानलाई मलबिउका लागि भारतबाट ल्याउन सहज गरिदिनहुन अनुरोध गरेका थिए ।
उनीहरुले सीमा क्षेत्रमा रहेको शसस्त्र प्रहरीले राम्रो काम गरेको र चोरी तस्करी नियन्त्रण गरेको भन्दै प्रशंशा पनि गरेका थिए । ७११ नम्बर पिल्लर नजिक रहेको दशगजामा तटबन्ध गरेर बाढीबाट स्थानीयलाई जोगाउन लागि बजेट छुट्याउँदा भारतीय पक्षले काम गर्न नदिएको उनीहरुको आरोप थियो ।
टीकापुर नगरपालिका वडा न ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले सीमा नाकामा शसस्त्र प्रहरीले चोरी डकैती नियन्त्रण भएको र चोरी तस्करी नियन्त्रणका लागि अझ सक्रिय रुपमा लाग्नुपर्ने सुझाव दिए ।
टीकापुर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले सीमा नाकामा शसस्त्र प्रहरीले लागूऔषध नियन्त्रणमा कडाइका साथ लाग्नुपर्ने बताए । पत्रकार मानबहादुर ठकुल्लाले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा र लागूऔषध ओसारपसारमा कडाइ गर्न माग गरे । उनले प्रहरीले चोरी तस्करीका मालबस्तु पक्राउ गरि भन्सार बुझाउँदा मालबस्तुको मूल्यांकन बजारको दररेट भन्दा बढी गरि पठाउँदा सामान लीलाम हुन नसकेकोले मूल्य राख्दा बजार मूल्य भन्दा कम गरेर बुझाउने पर्ने सुझाव दिए । सीमा क्षेत्रमा खटिएका तथा स्थापना गरिएका बेस क्याम्पमा खानेपानीको समस्या रहेकोले समाधानका लागि जनप्रतिनिधिको ध्यानाकर्षण गरेका थिए । शसस्त्र प्रहरी बल नेपाल ३४ नं. गण हेडक्वाटर कैलाली धनगढीका गणपति एसपी दलबहादुर पाण्डेले सीमा क्षेत्रमा रहेका समस्या समाधानका लागि सधैं तयार रहेको र सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न आफू मातहतका सम्पूर्ण बिओपीका प्रमुखलाई निर्देशन समेत दिएका थिए ।
शसस्त्र प्रहरी बल नेपाल ३४ नं. गण हेडक्वाटर कैलालीको आयोजनामा भएको कार्यक्रममा टीकापुर नगरपालिका र भजनी नगरपालिकाका सीमासँग जोडिएको वडाका वडाध्यक्ष ,स्थानीय, पत्रकार लगायतको सहभागितामा रहेको थियो ।