टीकापुरमा छापा हानेर मेडिकलमा शीलबन्दी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ मा रहेको एक मेडिकल मंगलबार शिलबन्दी गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत ओषधि बिक्री गरेको भन्दै औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले छापा हानेर शिलबन्दी गरेको हो।
मेडिकलमा अनुगमनको क्रममा नेपालमा प्रतिबन्धित औषधिहरु पनि बेच्ने गरेको भेटिएकोले मेडिकल शील गरिएको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायव निरीक्षक अशोक खडकाले बताए । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका अधिकृत दीपेन्द्रकुमार साहको नेतृत्वमा आएको टोलीले मंगलबार टीकापुर ७ नारायणपुर बेलुवामा रहेको रविना मेडिकलमा अनुगमनका क्रममा बिक्री गर्न नमिल्ने नमूना र्आषधि बिक्री गर्ने गरेको भन्दै १५ दिनको लागि मेडिकल सिल गरेको छ ।
टिकापुर ७ स्थित महेशकुमार श्रीवास्तवले सञचालन गरेको मेडिकल १५ दिनको लागि शील गरिएको विभागका अधिकृत साहले जानकारी दिए ।
सो क्षेत्रमा फार्मेसी तथा मेडिकल एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको, सरकारी कर्मचारीले पनि मेडिकल सञ्चालन गर्ने गरेको जनगुनासो रहेको अनुगमनमा रहेका एक सदस्यले बताए ।
टीकापुर नगरपालिका क्षेत्रमा झोले, नियम विपरित सञ्चालनमा रहेका, मापदण्ड अनुसार सञ्चालन नभएका फार्मेसी तथा मेडिकल अरु पनि रहेकाले बडा अनुगमन हुनुपर्ने स्थानीयको माग छ । नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, मेडिकल फार्मेसीहरु बन्द गरेका छौं । अरु पनि भए अनुगमन गरेर कारबाही गर्छौ साहले प्रतिबद्धता जनाए ।