गेरुवा ग्रामीणको संस्थापक महासचिव जीसी ३१ वर्षपछि अध्यक्षमा निर्वाचित

गुलरिया : सामान्यतः संस्थाको सचिव वा महासचिव अर्को कार्यकालको अध्यक्षको दाबेदार हुन्छन् । संस्थाको सांगठनिक जिम्मेवारी बहन गर्ने सचिव वा महासचिवमा सर्वोच्च पदमा पुग्ने लालसा पनि हुन्छ । धेरै त महत्वाकांक्षी पनि बन्छन् । बर्दियाको
गेरुवा ग्रामीण जागरण संघका संस्थापक महासचिव चन्द्रध्वज जीसीलाई भने अध्यक्ष बन्न ३१ वर्ष कुर्नु परेको छ । संस्थाका संस्थापक समेत रहेका र निरन्तर दुई कार्यकालका सफल नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष कृष्णजंग शाहले तेस्रो कार्यकालमै जिम्मेवारी हस्तान्तरण गरेपछि जीसी सर्वसम्मत् अध्यक्ष निर्वाचित भएका हुन् । संघकोे ९ सदस्यीय कार्य समितिको उपाध्यक्षमा उर्मिला ताम्रकार, महासचिव घनश्यामकुमार वैश्य, कोषाध्यक्ष लक्ष्मणप्रसाद चौधरी र सचिवमा पर्वतजंग शाह निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णजंग शाह, हरिहर गौतम, हरिप्रसाद शर्मा र रेखा राईन निर्वाचित भएको संस्थाका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिए ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साबिकको राजापुर गाविस ६ मा कार्र्यालय राखेर २७ माघ २०४९ सालमा दर्ता भएको थियो । अहिले जिल्ला सदरमुकाम गुलरियामा प्रधान कार्यालय छ । संस्थाको प्रादेशिक कार्यालय नेपालगन्जमा छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर र अछाममा काम गरिरहेको छ । गेरुवाले ५२ वटा परियोजनाहरु सफलताका साथ सम्पन्न गरिसकेको छ । यसले पूर्ण सरसफाई, स्वास्थ्य, प्रकोप व्यवस्थापन, सुशासन, लैंगिक समता प्रबद्र्धन, आयआर्जन सुधार लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसले विभिन्न दातृ संस्था, स्थानीय तह लगायतसँग सहकार्य गरेर काम गरिरहेको छ ।