‘हेल्थ याद आयो’को मोबाइल एपबाट स्वास्थ्य सेवा
काठमाडौं : मोबाइल एप ‘हेल्थ याद आयो’ले मोबाइल एपको माध्यमबाट स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।
‘हेल्थ याद आयो’ले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफलस्थित कोहिनर हिल कलोनीमा शनिबार निःशुल्क स्वास्थ्य परामर्श, परीक्षण तथा ल्याब परीक्षण सेवा दिएको हो । शिविरबाट कलोनीभित्र र आसपासका बासिन्दाले सेवा पाए ।
बिहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कोलोनीमा बसोवास गर्ने १०७ आवास गृहका करिब ६० प्रतिशत वासिन्दाले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए । एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, छालारोग, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।
ललितपुर एकान्त कुनास्थित शोवा हेल्थ केयर सेन्टर र लाइफ क्वेष्ट क्लिनिकल ल्याबको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्तरोगको परीक्षण निःशुल्क गरिए पनि अत्याधुनिक स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धी रोगको परीक्षण (विश्लेषण सहित), अन्य विभिन्न किसिमका जटिल रोगहरुको लागि रगत तथा पिसाब संकलन र परीक्षणहरु तोकिएको दररेटमा ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।
दुई वर्षको बालकदेखि ८३ वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक लेक्चर दिएका थिए भने “हेल्थ याद आयो” का प्रबन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोबाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देशभित्र तथा वाह्य मुलुकका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धी जानकारी दिएका थिए ।
शिविरमा दाँत सम्बन्धी रोगको परीक्षण ३० जनाले लिए । स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धी रोगको परीक्षण २९ जनाले लिएको शोवा हेल्थ केयर सेन्टरकी बजार प्रवन्धक जस्मी कर्माचार्यले जानकारी दिइन् ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रबन्ध निर्देशक मोबाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जिनियर प्रज्वल चुकेका अनुसार मोबाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । छिमेकी देश भारतसहित थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न सहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसँग भर्चुअल चिकित्सा परामर्श सेवा मोबाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रबन्ध निर्देशक चुकेले बताए ।
“हेल्थ याद आयो” का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख सहरहरुमा सञ्चालन गरेर मोबाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताइन ।
उक्त शिविरको पुरै अवधिभर शिविरका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने कोहिनुर हिल कलोनी सञ्चालक समितिका पूर्वअध्यक्ष तथा गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका पूववरिष्ठ पत्रकार अच्युत अधिकारी, समितिका उपाध्यक्ष सुरेश शाक्य लगायतको सहभागिता रहेको थियो ।
शिविरमा “हेल्थ याद आयो” को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष र सिमन लगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।
सहकार्य गर्ने शोवा हेल्थ केयर सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. स्वीकृति सुवेदी, सानु तामाङ, आर्या चित्रकार र रचना सिलवालले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए । लाइफ क्वेष्ट क्लिनिकल ल्याबका विशाल नेपाल र ल्याब असिष्टेन्ट सविना रावलले रगत संकलन र परीक्षण सेवा उपलब्ध गराएका थिए ।