सम्पादक खनालसहित १८ पत्रकार पुुरस्कृत

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालसहित १८ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न १४औं साधारणसभा÷अधिवेशनमा संघका अध्यक्ष दामोदर भण्डारी र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पुरस्कृत गरेका हुन् । अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उप–सम्पादकसमेत रहेका सम्पादक खनाललाई २०८१ सालको ‘सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता’ पुरस्कार प्रदान गरिएको हो । खनालसँगै पत्रकार शोभा केसीलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिएको थियो ।

नेपालगन्जका पत्रकार नीरज गौतमकी आमा सुशीला गौतमले पति सूर्यनाथ गौतमको स्मृतिमा स्वास्थ्य (मुटु)क्षेत्रमा कलम चलाउनेमध्येका पत्रकारलाई हरेक वर्ष १० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएकी छन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलीको नाममा स्थापना गरिएको लियाकत अलि पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकारद्वय शिव डोटेल र निरज गौतमलाई प्रदान गरियो ।
चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार पत्रकार विश्वराज पछल्डङ्ग्या र रविन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण ढुंगाना र अनिता विश्वकर्मालाई, रामकली राम आधार पत्रकारिता पुरस्कार विक्रम बुढा र अभिषेक गुप्तालाई, बेलमति स्वास्थ्य पत्रकारिता पुरस्कार गजेन्द्र गुरुङ र रुपनी जीएमलाई, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार खम्बप्रसाद पुन, चन्द्र बोहोरा र कृष्ण अधिकारीलाई, क्रियाशील पत्रकारिता पुरस्कार विजय मल्ल र बैकुण्ठ अधिकारीलाई, गुरु खत्री पत्रकारिता पुरस्कार तिलक गाउँलेलाई प्रदान गरिएको महासंघका सचिव कमल डाँगीले जानकारी दिए । सबै पुरस्कारको राशी जनही पाँच पाँच हजार रुपैयाँ रहेको छ । महासंघले पत्रकार रुद्र सुवेदीको संयोजकत्वमा डा.डक्टप्रसाद धिताल र नविन गिरी सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । महासंघले पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरेको थियो ।