विपद् व्यवस्थापनमा उद्योग वाणिज्य क्षेत्रको भूमिका महत्वपूर्ण

नेपालगन्ज : विपद् व्यवस्थापनमा निजी क्षेत्रसँगको सहकार्य, उद्दार र राहातमा सहयोग महत्वपूर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको सुपर परियोजनासँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरिएको विपद् व्यवस्थापनमा नीजि क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विपद्को क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले यस्तोे बताएका हुन् ।
कार्यक्रममा रेडक्रसका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नेपालका तीन तहकै सरकारका नीति तथा कानुनी व्यवस्थामा विपद् व्यवस्थापनमा निजी क्षेत्रको रुपमा उद्योग वाणिज्य क्षेत्रको सहभागिता सुनिश्चित गरिएको जानकारी दिए । उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीन तहकै सरकारको विपद् व्यवस्थापन सम्बन्धी समिति र संयन्त्रमा निजी क्षेत्रबाट उद्योग वाणिज्य क्षेत्रलाई संस्थागत रुपमा प्रतिनिधित्व गरेकाले विपद्को पूर्व तयारी, विपद्को उद्दार तथा राहात लगायतका सबै कार्यमा सहकार्य हुने र भइरहेको बताए ।
कार्यक्रममा युनिसेफको तर्फबाट सुपर परियोजनामा कार्यरत नरेश निदालले भूकम्पीय रुपमा पश्चिम नेपाल जोखिममा रहेको बताए । उनले पश्चिम नेपालमा लामो समयदेखि ठूला भूकम्प नगएकाले आगामी दिनमा भूकम्पीय जोखिम रहेको ध्यानाकर्षण गरेका थिए । नेपालगन्ज जस्तो ठाउँमा भूकम्प जाने खतरा नभए पनि यहाँको वस्ती विकास र घरका संरचनाका आधारमा भूकम्पको प्रभाव भने बढी पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाले रेडक्रसले निजी क्षेत्रसँग सहकार्य गरेर विपद् व्यवस्थापनमा साझेदारी गरिरहेको र गर्ने बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी र संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले विपद्को बेलामा वाणिज्य संघले सधैं सहयोग र साझेदारी गरिरहेको र गरिरहने प्रतिबद्धता जनाएका थिए ।