मानव धर्म सेवा समितिद्वारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण

खजुरा : नेपाल मानव धर्म सेवा समिति नेपालगन्जले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
समितिले बिहीबार खजुरा गाउँपालिकाको धौलागिरीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका बालविकासदेखि कक्षा ८ का विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।

नेपाल मानव धर्म सेवा आश्रमका प्रभारी चाँदना वाइजी, समितिका बाँके अध्यक्ष विन्दा पाण्डे, जिल्ला सचिव कृष्ण काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी खजुराका अध्यक्ष जीवनाथ सापकोटा, विद्यालयका प्रधानाध्यापक केशरबहादुर केसीलगायतले विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए ।

समितिका बाँके सचिव कृष्ण काफ्लेका अनुसार नेपाल मानव धर्म सेवा समितिलाई नेपालगन्जको धम्बोझीस्थित उज्जवल स्टेशनरी र वीपी चोकको आदर्श पुस्तक पसलले कापी, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर लगायतका स्टेशनरी सामानहरु सहयोग गरेका हुन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक केशरबहादुर केसीका अनुसार बालविकासदेखि कक्षा ८ सम्म विद्यालयमा १७५ छात्रछात्रा अध्ययनरत छन् । यो विद्यालय २०३३ सालमा स्थापना गरिएको हो ।