सत्ती भन्सारद्वारा अघिल्लोे वर्षभन्दा दोब्बर बढी राजस्व संकलन

मानबहादुर ठकुल्ला । टीकापुर
देशका अन्य भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकिरहेको बेला कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले अघिल्लो वर्षभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालय प्रमुख दिनहरि सापकोटाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ४४ प्रतिशत मात्रै राजस्व संकलन भएकोमा २०८०/८१ मा ८२.६३ प्रतिशत राजस्व संकलन भएको हो । सुदूरपश्चिम प्रदेशको मुटु मानिने कैलाली भन्सार कार्यालय धनगढीमा भने लक्ष्यको ६९.२५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । कार्यालयले १२ करोड एक लाख ४७ हजार राजश्व संकलनको लक्ष्य राखेकोमा १० करोड एक लाख ५० हजार ९ रुपैयाँ मात्रै राजस्व संकलन गरेको प्रमुख सापकोटाले प्रष्ट पारे ।
साउन महिनामा ७१ लाख नौ हजार सात सय ५२ रुपैयाँ, भदौ महिनामा एक करोड ११ लाख ८० हजार नौ सय ९२ रुपैयाँ, असोज महिनामा ६२ लाख ६१ हजार, कार्तिकमा ९२ लाख ३५ हजार, मंसिरमा एक करोड २४ लाख चार रुपैयाँ, पुसमा एक करोड ४२ लाख ७१ हजार चार सय ५४ रुपैयाँ, माघमा ६६ लाख ५७ हजार नौ सय ८७, फागुनमा ५६ लाख ११ हजार चार सय ४८, चैत्रमा ७६ लाख २२ हजार पाँच सय ९ रुपैयाँ, वैशाखमा महिनामा ५६ लाख ६५ हजार, जेठमा ७९ लाख ११ हजार पाँच सय ११ र असार महिनामा ६२ लाख १९ हजार ३६६ रुपैयाँ राजश्व संकलन भएको नायब सुब्बा पदम भट्टले जानकारी दिए ।
नेपाल प्रहरीले एक सय ५२ पटक अवैैध सामान पक्राउ गरेर ६८ लाख ६६ हजार ४ सय ८० रुपैयाँ बराबरको प्रतिवेदन पेस गरेको थियो भने सशस्त्र प्रहरीले एक सय ९८ पटक भन्सार छली गरेको सामान पक्राउ गरेर ६१ लाख ७८ हजार दुई सय पाँच रुपैयाँको प्रतिवेदन पेश गरेको नायव सुब्बा सीताराम बुढाथोकीले बताए ।
निर्यात शून्य जस्तै रहेको र आयातबाट मात्रै राजस्व संकलन भएको र आयातमा कपडा, हार्डवेयर, कोइला, फर्निस आयल, मोटर साइकलका पाट्सहरु आउने गरेका छन् । प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन नभएर खाध्यान्न लगायतका सामान नआउने हुनाले राजस्व संकलनमा कमी त छँदैछ ब्यापारीहरुलाई समेत कठिनाइ भोग्नुपरेको भन्सार प्रमुखको भनाइ थियो ।