सत्ती ट्राफिकद्वारा सवा ४ लाख राजस्व संकलन

टीकापुर : कैलालीको अस्थायी ट्राफिक प्रहरी सत्तिले गत आर्थिक वर्षमा सवा ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सत्तीका ट्राफिक प्रमुख प्रहरी हवल्दार जयहरी चन्दका अनुसार ४ वटा बसबाट ३ हजार ५ सय, ३९ वटा ट्रक, ट्रिप्परबाट २७ हजार ५ सय, २० वटा जिप, कारबाट १४ हजार ५ सय, ४ सय ४२ वटा मोटरसाइकलबाट ३ लाख १० हजार, ६५ वटा ट्रयाक्टरबाट ४६ हजार रुपैयाँ गरी कुल ४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने, हेल्मेट एवम् सिटबेल्ट नलगाएर सवारी चलाउने , ओभरलोड बोकेका, तीव्र गतिमा चलाउने सवारी साधनबाट जरिवाना संकलन गरिएको उनले जानकारी दिए ।

आर्थिक पारदर्शीता कायम गर्नका लागि पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन धनीलाई पुर्जी काटेर बैंकिङ प्रणालीबाट राजस्व भुक्तानी लिने गरेको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट सत्तीले प्रहरी चौकी सत्तीको सहयोगमा गत आर्थिक वर्षमा जनचेतनामूलक ३६ वटा कार्यक्रम गरेको जानकारी दिएको छ भने चालकसँग एक मिनेट, अभिभावक र विद्यार्थीसँग ट्राफिक प्रहरी कार्यक्रम सञ्चालन गरेको थियो ।