गुरु पूजा महोत्सवमा वाइजीलाई सम्मान

नेपालगन्ज : नेपाल मानव धर्म सेवा समिति नेपालगन्ज आश्रमले गुरु पूर्णिमाको अवसरमा गुरु पूजा महोत्सव आयोजना गरेको छ । गुरु पूर्णिमाको पूर्वसन्ध्यामा शनिबार नेपालगन्जको कारकाँदोस्थित आश्रममा गुरु पूजा महोत्सव आयोजना गरेको हो ।

सो अवसरमा आध्यात्मिक ज्ञान मार्फत चेतनाको दियो बालेर समाजमा योगदान गरेको भन्दै महात्मा चाँदना वाइजी, महात्मा चन्द्राकान्ता वाइजी, महात्मा वैरागिनी वाइजी, महात्मा पूजा वाइजीलाई नेपाल मानव धर्म सेवा समिति नेपालगन्जका अध्यक्ष विन्दा खरेल, क्षेत्र सचिव सिर्जना मल्ल, जशोदा काफ्ले र स्वयंसेवक दलबाट उपप्रमुख गंगा देवकोटालगायतले वस्त्र दान गरेर सम्मान गरेका थिए ।

सोही अवसरमा विश्व रक्तदाता दिवसको अवसरमा ८३ जनालाई रक्तदान गराउन धेरै रक्तदाता जुटाउन योगदान गर्र्ने चन्द्र वली र लक्ष्मी केसीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा महात्मा चाँदना वाइजी र महात्मा चन्द्राकान्ता वाइजीले गुरुको महत्व र आध्यात्मिक ज्ञानका बारेमा प्रवचन दिएका थिए ।

संस्थाकी अध्यक्ष विन्दा खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले प्रमुख अतिथि थिइन् । सांसद काफ्ले सबैलाई सकारात्मक सोचका साथ काम गर्न आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘नकारात्मक कुरालाई समातेर अघि बढ्यौं भने हामी कहिल्यै पनि अघि बढ्न सक्दैनौं । सुविचार र सुकर्मबाट लक्ष्यमा पुग्न सकिन्छ ।’
कार्यक्रममा कनिष्का अधिकारी, सुमेरा, सुर्वी, एञ्जला, सिमरन, समृद्धि, लिशा, नित्या, आरोही, एञ्जुलीलगायतले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । बाल कवि अभि सुवेदीले गुरु बन्दनासँगै गुरुका विषयमा सुन्दर कविता वाचन गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

भजन मण्डलीको तर्फबाट सपना रेग्मी, लक्ष्मण भुसाल, सिर्जना मल्ल, सूर्य थापा, जितेन्द्र शाही र खुमा थापाले भजन गाएका थिए । गुरु पूजा महोत्सवमा अध्यात्मिक ज्ञान, सत्संग, साहित्यिक र सांगितिक प्रस्तुतीबाट भक्तजनलाई भरपूर आनन्दकोे महसुस भएको थियो ।