भेरीले किन मनायो एक वर्ष घटाएर १३४औं वार्षिकोत्सव

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले १३४औं वसन्त पूरा गरेको छ । विस १९४७ साउन १२ गते देशकै सबैभन्दा पूरानो वीर अस्पतालसँगैै पृथ्वी–वीर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सेवा सुरु गरेको भेरी अस्पतालले शनिबार भने १३४औैं वार्षिकोत्सव मनाएको छ । जबकी एकैदिन विस १९४७ साउन १२ गते स्थापना गरिएको वीरले भने १३५औैं वार्षिकोत्सव मनाएको छ । विगतका अस्पताल प्रशासन र अस्पताल विकास समितिले भेरीको अपूरो इतिहास कोरे पनि नयाँ नेतृत्वको काँधमा हराएको एक वर्ष खोजी गर्नुपर्ने दायित्व छ ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको वार्षिकोत्सवमा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर, लु्म्बिनी प्रदेशमन्त्री बादसाह कुर्मी, प्रदेशका पूर्वमन्त्री रत्न खत्री, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अस्पतालको सफलताको कामना गरेका थिए ।

वार्षिकोत्सवमा अस्पतालका डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीले गीत, नृत्य, गजल वाचन गरेका थिए । सोही अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारी, खेल प्रतियोगिताका विजेतालाई पुरस्कृत र सम्मान गरिएको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डडेन्ट डा. प्रकाशबहादुर थापाले कार्यक्रममा जनरल सेवासंगै क्याथ ल्याब, न्यूरो सर्जरी सेवा, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी, तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, यूरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमियालगायतको उपचार सेवा जानकारी दिए ।