भेरी अस्पतालको २५० शैयाको नवनिर्मित भवन उद्घाटन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भेरी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै 

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार अस्पतालको इन्डोर भवनको उद्घाटन गरेका हुन् । २५० शैया क्षमताको नवनिर्मित भवनमा ३० शैयाको इमरजेन्सी, मेडिसिन विभाग, हाडजोर्नी विभाग र प्रशासन सञ्चालन भइरहेको छ । १५० शैयामा सञ्चालनमा रहेको अस्पतालमा यो भवन निर्माण भएसँगै अब २७० शैयामा सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ३२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको भवन पटक पटक म्याद थप गरेर गत वर्ष आर्थिक वर्षको अन्त्यतिरबाट सञ्चालनमा आएको थियो । निर्माण कम्पनीले भवन चालु आर्थिक वर्षमै हस्तान्तरण गरेको थियो । अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु गरेको एमआरआइको पनि मन्त्री प्रदीप पौडेलले शुक्रबार औपचारिक रुपमा सेवा शुभारम्भ गरेका थिए ।
भेरीमा जडान गरिएको थ्रीटेस्लाको मेसिन एमआरआइ पश्चिम नेपालकै पहिलो अत्याधुनिक मेसिन हो । नेपाल सरकारको २४ करोड रुपैैयाँमा एमआरआइ मेसिन खरिद गरिएको हो । योे मेसिन लुम्बिनी प्रदेशभरी भेरीमा मात्र छ । एमआरआइ सेवा सुरु भएपछि बिरामीलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नै हटेको छ ।

अस्पतालको नवनिर्मित इन्डोर भवन तथा एमआरआइ सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले संविधानमा उल्लेख भए बमोजिम नागरिकका लागि सबै स्वास्थ्य सेवा प्रदान गर्न तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको पनि बताए । भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र उपकरणको आधारमा गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । सो अवसरमा मन्त्री पौडेलले भेरी अस्पतालको निरीक्षण पनि गरेका थिए ।

अस्पतालले शुक्रबारदेखि मन्त्री पौडेलको उपस्थितिमा स्वास्थ्य परीक्षणका लागि घरमै बसेर अनलाइनबाट पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको शुभारम्भ पनि गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।
भेरी अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु सूर्य ढकाल, दीपा शर्मा र आशा विक, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिति थियो । कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसँग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी मन्त्री पौडेलले कोहलपुर नगर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमको पनि शुक्रबार शुभारम्भ गरेका थिए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका थिए । अस्पतालमा स्वास्थ्य बिमा सेवा भने आगामी १ भदौेदेखि सुरु हुनेछ ।