अन्तरदेशीय अवधी महोत्सव भव्य रुपमा सम्पन्न

पवन जायसवाल । नेपालगन्ज
चौथो अन्तरदेशीय अवधी महोत्सव नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ ।
५२७औं तुलसीदास जयन्तीको अवसरमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्य समिति नेपालगन्जले चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५औं अवधी दिवस समाजमा योगदान गर्ने व्यक्तिलाई सम्मान, विचार तथा बहुभाषिक कवि गोष्ठी, लोक नृत्य, मुक्तक, सायरी, गीत, गजल, गायनसहित भव्य रुपमा मनाइएको हो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द कुमालको अध्यक्षता तथा प्रतिष्ठानका संस्थापक विष्णुलाल कुमालद्वारा सहजीकरण गरिएको कार्यक्रममा समाजसेवी पशुपति दयाल मिश्र प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, प्रतिष्ठानका पूर्वसदस्य सचिव सनतकुमार रेग्मी लगायत नेपाली र भारतीय साहित्यकारले अवधी भाषाका महाकवि तुलसीदासकोे योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा वैष्णवी वैश्य र गौरी वैश्यले कजरी नृत्य, रेखा वैश्य तुल्सी भजन र सुशीला वैश्यले कजरी गीत प्रस्तुत गरेका थिए । आराधना वैश्य, निरहू यादव, मञ्जु वैश्य, कृष्णा देवी पाण्डेय, मो. मुस्तफा अहसन कुरैसी, जनप्रिय खनाललगायतले महोत्सवमा नेपाली, अवधी, उर्दू, हिन्दी भाषी कवि तथा कवयित्रीहरुले गीत, गजल, कविता, मुक्तकलगायतका साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रममा नेपालको बाँके, बर्दिया, कपिलवस्तु, काठमाडौं र भारतको अयोध्या, बहराइच, सीतापुर क्षेत्रबाट गरी १०० जना भन्दा बढी अवधी पे्रमी, समाजसेवी, साहित्यकार, पत्रकार र बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।