थारु महिलाद्वारा नेपालगन्जमा सामूहिक कृष्ण जन्माष्टमी

नेपालगन्ज : थारु समुदायका महिलाहरुले नेपालगन्जमा सामूहिक रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएका छन् ।
बाँकेको नेपालगञ्जमा स्थायी रुपमा बसोवास गर्दै आएका र विभिन्न पेशा व्यवसायमा आबद्ध थारु महिलाहरु श्रीकृष्ण जन्माष्टमीको ब्रत बसी एकै ठाउँमा सामूहिक रुपमा पूजापाठ गर्न लागेका हुन् । कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुले शनिबार सामूहिक दर खाने कार्यक्रम समेत आयोजना गरेका थिए । जन्माष्टमीको पूर्वसन्ध्यामा दर खाने चलन भए पनि नेपालगञ्जमा कर्मथलो बनाएर बसोवास गरिरहेका धेरै थारु महिलाहरु विभिन्न पेशा व्यवसाय ब्यस्त रहने भएकाले शनिबार नै दर खाने कार्यक्रम सम्पन्न गरिएको घरेलु महासंघ बाँके, महिला उद्यमी समितिका अध्यक्ष सुमित्रा चौधरीले जानकारी दिइन् ।

दर खाने कार्यक्रममा उपस्थित संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार डा. कृष्णराज सर्वहारीले थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वको महत्वबारे प्रकाश पारेका थिए । कृष्ण लीलामा आधारित थारु सख्या गीतको बारेमा विद्यावारिधि समेत गरेका डा. सर्वहारीका अनुसार कृष्ण लीलामा ब्याख्या गरिए अनुसार राधा ३२ लक्षणले भरिपूर्ण थिइन् । सँधै सोह्र श्रृङ्गार गरेर बस्दथिन । स्वादिष्ट खाना बनाउन जान्नुका साथै उनीमा कुनै सीपको कमी थिएन भनिएको छ । उनले भने ‘सोही अनुसार थारु महिलाहरु कृष्ण जन्माष्टमीमा सोह्र श्रृङ्गार गरेर राधा जस्तै बनेर ब्रत बस्ने चलन रहेको छ ।’ कृष्ण लीलामा आधारित थारु अष्टीम्कीह्या तथा सख्या गीतमा कृष्ण भगवानका बाबुआमा खेती किसानी गर्ने र हलो जुवा पनि आफै बनाउने बारे ब्याख्या गरिएको जानकारी दिँदै उनले थारु समुदाय पनि पुर्खौंदेखि खेती किसानीमा आश्रित हुँदै आएको बताए ।
जन्माष्टमीको दिन सोमबार निराहार ब्रत बसेर बेलुका एकैठाउँमा सामूहिक रुपमा कृष्ण कन्हैयाको पूजापछि थारु भाषामै कृष्ण लीलामा आधारित अष्टिम्कीह्या गीत गाएर जाग्राम बस्ने कार्यक्रम रहेको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष संगीता चौधरीले बताइन् । विभिन्न पेशाा व्यवसाय शिलशिलामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु महिलाहरु नेपालगञ्ज बस्दै आए पनि अन्य चाडपर्वमा सबैजना गाउँघरमै गएर मनाउँथे । जन्माष्टमी पर्वमा लामो विदा नहुने भएकाले सामूहिक रुपमा नेपालगञ्जमै मनाउन थालिएको थारु महिलाहरु बताउँछन् । अन्य पर्वमा व्रर्त बस्ने र पूजापाठमा खासै चासो नदिने थारु समुदायका महिलाहरु कृष्ण जन्माक्ष्टमी पर्वमा निराहार ब्रत बसी पूर्ण आस्था र विश्वासका साथ पूजापाठ गर्ने चलन रहेको थारु कल्याणकारीणी सभा बाँकेका सचिव विष्णु चौधरीको भनाइ छ । जन्माष्टमीको दिन श्रीकृष्ण, पाँच पाण्डव, द्रौपति, सूर्य, चन्द्रमा र प्रकृतिमा पाइने अन्य जीवजन्तु लगायतको चित्र भित्तामा कोरेर पूजा गर्ने चलन रहेको थारु कलाकार मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरीले प्रष्ट पारिन् ।