पद्दती बनाएर नेतृत्व हस्तान्तरण गर्दैछु : प्रचण्ड

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद्दति बनाएर पार्टीको नेतृत्व हस्तान्तरण गर्न गइरहेको बताएका छन् ।
प्रेस सेन्टर बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गरेर आफू अर्को भूमिकामा जाने बताएका हुन् ।

पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नी सापकोटा, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणी खनाल, सोनामलगायतका नेतासहित नेपालगन्ज पुगेका प्रचण्डले भने, ‘साथीहरुले अझै पनि तपाई नै नेतृत्वमा हुनुपर्छ भनेर प्रेसर गरिरहनु भएको छ । भइरहनुपर्छ भन्ने पनि छैन । अब मेरा लागि अध्यक्ष पद नभइ नहुने सधैं भरी नेतृत्वमा मलाई भने नेतृत्वमा बसिरहन मन छैन । सिस्टम बनाएर उत्तराधिकार हस्तान्तरण गर्छु । सिस्टम नबन्दासम्म म नै नेतृत्वमा हुन्छु । सिस्टम बनेपछि म अर्को भूमिकामा हुन्छु ।’
उनले कस्तो सिस्टम बनाउन लागेका हुन् ? कहिलेसम्म सिस्टम बनिसक्छ ? कहिलेसम्म नेतृत्व हस्तान्तरण गरेर उनी कुन भूमिकामा हुने हो भन्नेबारे भने केही खुलाएनन् । पार्टीभित्र अन्तरविरोध चर्र्किएको र पार्टी फुट्न लागेको कुरा निराधार भएकोे बताए । ‘पार्टी फुट्न लागेको भन्ने कुरा निराधार हो । पार्टी बैठकले पनि यसबारे स्पष्ट पारिसकेको छ । पार्टीलाई अझ बढी एकताबद्ध गर्न र पार्टी निर्माणकै क्रममा सातै प्रदेशमा समन्वय बैठक गरिरहेका छौं’, उनले प्रष्ट पारे । विचार मिल्ने पार्टीबीच एकता र समाजवादी मोर्चा बलियो बनाउने उनले दाबी गरे । केपी ओली नेतृत्वको सरकारलाई असंवैधानिक भएको र बल मिच्याइ गरेर नयाँ सरकार बनाएको जिकिर गरे । सरकारविरुद्ध सडक र सदनबाट विरोध गर्ने पनि उनले उद्घोष गरे ।