रगत अभाव पूरा गर्न नेपाल मानव धर्म सेवा समितिद्वारा रक्तदान, ५८ पिन्ट रगत संकलन

नेपालगन्ज : बाँकेमा भइरहेको रगत अभाव पूर्ति गर्न नेपाल मानव धर्म सेवा समिति नेपालगन्ज आश्रमले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मानव धर्मका प्रणेता अध्यात्मिक गुरु सतपालजी महाराजको जन्मोत्सवको अवसरमा समितिले शनिबार नेपालगन्ज आश्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो । समितिका सहसचिव कृष्ण काफ्लेका अनुसार १२ महिला र ४६ पुरुष गरी ५८ जनाले रक्तदान गरेका थिए ।

नेपाल मानव धर्म सेवा समितिको नेपालगन्जस्थित राप्ती भेरी आश्रम प्रमुख महात्मा चाँदना वाइजी र समितिका प्रचारिका महात्मा चन्द्रकान्ता वाइजीप्रचारिका महात्मा वैरागिनी वाइजीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतका प्राविधिकहरुलार्ई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

रगत अभाव भइरहेको बेला आयोजना गरिएको रक्तदान कार्यक्रमबाट कतिपय बिरामीलाई तत्कालै रगत पूर्ति गरिएको रक्त सञ्चार केन्द्रका प्रमुख रेग्मीले बताए । नेपाल मानव धर्म सेवा समिति नेपालगन्जस्थित राप्ती भेरी आश्रमले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।