जब सातआठ कक्षाका विद्यार्थी सांसद बनेर प्रदेशसभा बैठक चलाउँछन्…

नेपालगन्ज : उमेर ओठ निचोर्दा दूध आउने जस्ता छन् । पुरुष दौरा सुरुवाल र शीरमा ढाका टोपीमा ठाँटिएका छन् । कोही स्टकोेटमा पनि । महिला सारीमा सजिएर सुन्दर छन् । झट्टा हेर्दा नेता जस्ता तर नपत्याउँदा । एकसुरे घण्टी बज्ने बित्तिकै सबै हलमा प्रवेश गर्छन् । कोही सत्ता पक्ष त कोही प्रतिपक्ष बनेर आशन ग्रहण गर्छन् । सभामुखलाई संसदका कर्मचारीले मञ्चमा बसाउँछन् । मर्यादापालक पनि छन् । एकैछिनमा राष्ट्रिय गान बज्छ । अनि सभामुखबाट सभा आरम्भ हुन्छ ।
यो दृश्य नेपालगन्जको स्प्रिङडेल एकेडेमीमा शनिबार आयोजना गरिएको प्रथम लुम्बिनी नमुना प्रदेशसभा हो । जहाँ कक्षा ७ र ८ का ६५ छात्रछात्रा सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, विषयगत समिति सदस्य, संसद सचिवालयका कर्मचारी बनेर लुम्बिनी प्रदेशसभाको अभ्यास गरिरहेका थिए । मर्यादापालकमा भने कक्षा ९ र १० का विद्यार्थीले सघाएका थिए । नमुना प्रदेशसभा आयोजना गर्नुअघि उनीहरुले लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेशसभाको स्थलगत अवलोकनबाट जानकारी लिएका थिए । विद्यार्थीले महिला सशक्तिकरण, विद्यालय शिक्षामा प्रविधिको प्रयोग, पर्यटन विकास र कृषिमा आधुनिकीकरण सम्बन्धी विधेयक संसदमा टेबुल गर्ने, विधेयकमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग जिज्ञासा राख्ने र अन्तिममा संसदबाट बहुमतबाट पारित गर्ने काम गरेका थिए ।
नमूना लुम्बिनी प्रदेशसभामा सभामुखको भूमिकामा कक्षा १० की छात्रा हिना खड्का, मुख्यमन्त्री कक्षा ८ का निश्चल विष्ट, कृषि मन्त्री अनुजा घिमिरे, पर्यटन विकास मन्त्री मातृका न्यौपाने, महिला सशक्तिकरण मन्त्री उषा शर्मा र विद्यालय शिक्षा मन्त्री प्रत्युश कार्कीले सशक्त रुपमा निर्वाह गरेका थिए ।
प्रदेशसभामा आमन्त्रित गरिएका शिक्षाकर्मी अभिशेष घिमिरेले पार्टीको झन्डा बोकाएर, जिन्दाबाद र मुर्दावादको नारा नलगाएर नमुना प्रदेशसभा, प्रतिनिधिसभा जस्ता रचनात्मक कार्यबाट विद्यार्थीलाई राजनीतिक चेतना दिनुपर्ने बताए । उनले विद्यार्थीलाई कार्यका आधारमा नेता भइसकेको भन्दै प्रशंशा गर्दै भावी दिनमा समाजको नेतृत्व लिन सुझाव पनि दिए । विद्यार्थीलाई पठनपाठनका अलावा रचनात्मक अतिरिक्त क्रियाकलाप गरेको भन्दै स्प्रिङ डेल स्कुलको जति प्रशंशा गरे पनि नपुग्ने बताए । उनले विद्यालयको राम्रो अभ्यासबारे आफू जहाँ जहाँ पुगे पनि जानकारी गराउने प्रतिबद्धता पनि जनाए ।

विद्यार्थीहरुलाई पाठ्यपुस्तकको अध्ययन अध्यापन गराउनुका साथै व्यहारिक अभ्यासका लागि प्रदेशसभामा हुने सबै गतिविधिलाई समेटेर नमूना अभ्यास गराएको विद्यालयका प्राचार्य शरदचन्द्र रावलले बताए । स्प्रिङडेलले यसअघि नमुुना राष्ट्रसंघ सभाको अभ्यास गरिसकेको छ । चाँडै नै कक्षा ९ र ११ का विद्यार्थीलाई सहभागी गराएर प्रतिनिधिसभा बैठक गर्ने तयारी गरेको प्राचार्य रावलले प्रष्ट पारे ।