कैलाश सामुदायिक वनको अध्यक्षमा गणेश थारु विजयी
वनवीरपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुरको कैलाश सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा गणेश थारु निर्वाचित भएका छन् । वन समूहकोे शुक्रबार सम्पन्न निर्वाचनमा गणेशले प्रतिद्वन्द्वी मास्टर थारुलाई ३६ मत अन्तरले पराजित गरेका हुन् । मास्टर गणेशका सहोदर दाइ (काकाका छोरा) हुन् ।
निर्वाचन अधिकृत सुरज थारुका अनुसार गणेशले १३३ मत र मास्टरले ९७ मत पाएका थिए । गणेश प्यानलका उपाध्यक्ष कमला खनाल ३ मत र सचिव सीताकुमार जैसी ११ मतले पराजित भए । प्रेमकुमारी थारुले ११२ मत ल्याएर उपाध्यक्षमा विजयी हुँदा खनालले १०९ मत ल्याइन् । सचिवमा रेखा थारुले ११३ मतले विजयी हुँदा उनकी प्रतिद्वन्द्वी सीताकुमारी जैसीले १०२ मत पाइन् । कोषाध्यक्षमा अरुणकुमार कठरिया १२४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कमल बुढाले ९१ मत मात्र पाए । ३३ मतको अन्तर भयो ।
सदस्यमा बालाराम जैसी, रामकुमारी थारु, गंगा थारु, धनिराम थारु, दुबरा थारु, शिवकुमारी सिजापति लीला थारु र मीना थारु विजयी भए । सदस्यमा निर्वाचित सबै गणेश प्यानलका हुन् ।
दुई प्यानल छुट्टिने गरी मतपत्र तयार गरिए पनि गणेश प्यानलका उपाध्यक्ष र सचिव मात्र पराजित हुनुलाई पारिवारिक मतमा अन्तरघात भएको आशंका छ ।
निर्वाचनमा सर्वाधिक १३३ मत अध्यक्ष थारु र सबैभन्दा कम मत रञ्जना जैसीको ७९ आएको निर्वाचन अधिकृत सुरज थारुले जानकारी दिए । वन समूहमा २९८ उपभोक्ता सदस्य रहेकोमा २३३ जना मात्र निर्वाचनमा सहभागी भएका थिए । ६५ मत खसेन ।