त्रैमासिक राजस्व : सत्ती भन्सारको साढे ३ करोड र पृथ्वीपुर छोटी भन्सारद्वारा १४ लाख संकलन
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीका सत्ती भन्सार र पृथ्वीपुर छोटी भन्सार कार्यालयले त्रैमासिक रुपमा पौने चार करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।
टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले चालू आर्थिक वर्षको ३ महिनामा करिब ३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
सत्ती भन्सारले आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा ७६ लाख ५० हजार ५१४ रुपैयाँ , भदौ महिनामा एक करोड २८ लाख २०७ रुपैयाँ र असोज महिनामा एक करोड ३५ लाख ९० हजार रुपैयाँ गरी चालू आर्थिक वर्षको ३ महिनामा ३ करोड ४० लाख ४० हजार ७७ सय २१ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले जानकारी दिए । कार्यालयले कपडा, हार्डवेयर ,मोटर पार्टस कम्बाईन (हार्वेष्ट)लगायत घरायसी प्रयोजनका लागि ल्याइने सामान र साना साइकल व्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएको नायव सुब्बा पदमराज भट्टले बताए। पछिल्लो समय सीमा नाकामा खटिएका प्रहरीले सीमा नाकामा कडाइ गरेकाका कारण राजस्वमा बृद्धि भएको जानकारहरु बताउँछन् । यस क्षेत्रबाट आयात हुने विभिन्न सामान नेपाली बजार टीकापुर, लम्की, बौनिया, राजापुर र शान्तिबजार लगायतका ठाउँ जाने गरेको स्थानीय बताउँछन् । कार्यालयले गत आर्थिक वर्षमा १२ करोड एक लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० करोड दुई लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आर्थिक वर्षमा १२ करोड सात लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सत्ती भन्सार कार्यालय खक्रौलाले प्रहरीले पक्राउ गरेको सामान लीलाम गरिए पनि विगत चार पाँच वषदेखि पुरस्कार वापतको रकम वितरण गर्न नसकेको प्रहरीकोले गुनासो छ ।
त्यसैगरी भजनी नगरपालिका वडा नं. ५ स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय लालबोझीले चालू आर्थिक वर्षको तीन महिनामा करिव १४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा तीन लाख ५९ हजार ७५९ रुपैयाँ, भदौ महिनामा तीन लाख ५९ हजार ८१० रुपैयाँ र असोज महिनामा ७ लाख ५४ हजार ९१९ रुपैयाँ गरी चालू आर्थिक वर्षको ३ महिनामा १४ लाख ७४ हजार ४८८ रुपैया राजस्व संकलन गर्न सफल भएको छोटी भन्सार कार्यालयका सुब्बा पदमराज भट्टले जानकारी दिए । कार्यालयले घरायसी प्रयोजनका लागि ल्याइने सामान र साना साइकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरेको हो । पछिल्लो समय सीमा नाकामा खटिएका प्रहरीले कडाइ गरेकाका कारण राजस्वमा बृद्धि भएको हो । केही वर्ष अगाडि यस भन्सारमा वार्षिक तीन चार लाख रुपैयाँ राजस्व संकलन हुने गरेको थियो भने हाल महिनामा नै तीन चार लाख रुपैयाँ राजस्व उठ्ने गरेको छ ।
कैलालीका विभिन्न नदी क्षेत्रमा खुला सिमानामा सञ्चालन भइरहेका घाट क्षेत्रबाट राजस्व चुहावट भए पनि नियन्त्रण गर्न नसकिएकोे स्थानीयको गुनासो छ ।