जिल्ला स्तरीय खेलकुदमा सबै खेलाडीलाई पदक र प्रमाण-पत्र !

नेपालगन्ज : खेल प्रतियोगिता भन्ने बित्तिकै हार वा जित हुन्छ । विजेता बन्ने प्रथम, दोस्रो, तेस्रो र सान्तवना पुरस्कार पाउँछन् तर मन्टेश्वरी एशोसिएशन बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा सम्पन्न तीन दिवसीय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता स्पोट्स मीट २०८१ मा डेढ सय बढी खेलाडी सहभागी भए ।

फुटवल, रिले, जम्पिङ, व्यालेन्सिङ, दौड, म्युजिकल चियर, कुर्ची दौड, इन आउटका प्रतियोगिता भए । कसैले हारेनन् । सबैले जिते । सबैले पदक र प्रमाणपत्र पाए ।

किन त ? ‘हाम्रो उद्देश्य नै सबै विद्यार्थीलाई खेलमा सहभागी गराउने होे । खेलमा प्रेरित गर्ने हो । कोही हार्ने र कोही जित्ने होइन’, मन्टेश्वरी एशोसिएशन बाँकी अध्यक्ष दुर्गा बजगाई भन्छिन्, ‘हामी खेलमा सहभागी सबै विद्यार्थीलाई समान जित झैं मेडल र प्रमाण पत्र दिएर खेलमा उत्प्रेरित गछौैैं ।’
एसोसिएसनका जिल्ला सचिव खिमा थापाले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजित खेलकुद कार्यक्रममा प्रतिस्पर्धात्मक नभइ सहभागितात्मक भएको जानकारी दिंदै शनिबार सम्पन्न कार्यक्रममा सहभागी ७ वटै मन्टेश्वरी स्कुलका बालबालिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेर समापन कार्यक्रमलाई रोचक बनाउनुका साथै अतिथि, अभिभावक र बालबालिकाहरुलाई मनोरञ्जन पनि प्रदान गरेको बताइन् ।
“खेलमा शक्ति ः अध्ययनमा ज्ञान” भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेल मैदानमा मंसिर १३ गतेदेखि सुरु भएको उक्त खेलकुद प्रतियोगिता शनिबार समापन तथा प्रमाण पत्र वितरण समारोहको आयोजना गरिएको थियो ।
प्रतियोगितामा लिटिल होराइजन मन्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्डे«न जोन नेपालगन्ज, नोबेल प्रि–मन्टेश्वरी, स्माल ह्याभेन मन्टेश्वरी, दोश्रो पाइला मन्टेश्वरी कोहलपुर र ग्रेस मन्टेश्वरी बैजनाथ गरी बाँकेका ७ वटा मन्टेश्वरी स्कुलका १६५ विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले प्रमाण–पत्र तथा पदक वितरण गर्दै विद्यालयका शिक्षिकाहरुले जुन मेहनतका साथ बालबालिकाहरुलाई पठन पाठन गराउँछन्, सोही अनुसार अधिकाँश समय घरमा बिताउने उनीहरुलाई आमा बुवा तथा अभिभावकहरुले पनि हेरचाह, होम वर्क र अन्य क्रियाकलापमा सहयोग र उत्प्रेरित गर्नु पर्ने धारणा राखिन् । उनले भनिन्, कुनै बालबालिकाहरुको पहिलो पाठशाला घर हो र पहिलो शिक्षिका आमा हुन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले वौद्धिक विकासका लागि स्वास्थ्य र स्वास्थ्यका लागि खेलकुद अनिवार्य हुनु पर्नेमा नेपालगन्जका नीजि क्षेत्रका विद्यालयहरुमा खेल मैदानको कमि भएको बताउँदै मन्टेश्वरीका बालबालिकाका लागि आवश्यक पर्ने खेलको पूर्वाधार र अन्य सहयोगका लागि नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावना पेश गरे सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै एशोसियसनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले स्वर्गीय मारिया मन्टेश्वरीको परिकल्पना र अवधारणा अनुसार विश्वभर लोकप्रिय बन्दै गएको मन्टेश्वरी शिक्षण विधि, पद्दति र सिकाईका साथै बालबालिहरुलाई सुसंस्कृत पनि बनाउनु पर्नेमा जोड दिए । उनले भने, भोलिका देशका कर्णधार आजका कलिला बालबालिकाको भविष्य निर्माण गर्ने र उनीहरुको उज्वल भविष्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षिकाहरुलाई बधाई दिंदै आमा बुवाले त जन्म दिने, पालनपोषण गर्ने मात्र गर्छन्, तर तपाईहरुले त उनीहरुको उज्वल भविष्य निर्माण गर्ने जस्तो महत्वपूर्ण र स्तुतीयोग्य जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।
संस्थापक अध्यक्ष लुना बुढाथोकी लगायतले प्रमाण–पत्र तथा पदक वितरण गर्दै मण्टेश्वरी एसोसिएसन, बाँकेले बालबालिकाहरुको हरेक वर्ष स्वास्थ्यका लागि खेलकुद तथा मानसिक, शारीरिक एवम् सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएकोमा प्रशंसा र सराहना गरेकी थिइन् । मन्टेश्वरी एशोसिएशन बाँकेका सचिव खिमा थापाले सञ्चालन गरेको तीन सय भन्दा बढी अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको उक्त समापन कार्यक्रममा स्वागत मन्तव्य मन्टेश्वरी एसोसिएसन बाँकेकी कोषाध्यक्ष सीता पौडेलले गरेकी थिइन् ।