पत्रकारलाई चलचित्र समीक्षाबारे प्रशिक्षण
नेपालगन्ज : नेपाली चलचित्र निर्देशक मनोज पण्डितले बाँकेका पत्रकारलाई चलचित्र समीक्षाबारे प्रशिक्षण दिएका छन् ।
चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा पत्रकारहरुलाई प्रशिक्षण दिइएको हो ।
‘समीक्षा गर्दा पत्रकारले सिनेमा ब्याकरण अनुसार छ कि छैन ? त्यो सिनेमाले कथाको मूल तत्व के हो ? सन्देश के दिन खोजेको छ ? यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा निर्धक्क औंल्याउन सक्नुुपर्छ’, निर्देशक पण्डितले भने, ‘सिनेका पात्र, पात्रको लक्ष्य, अवरोध, मुख्य पात्रले कसरी लक्ष्य प्राप्त गर्छ ? र सिनेमाको अन्त्य कसरी हुन्छ भन्नेबारे पत्रकारले समीक्षा गर्नसक्नुपर्छ ।’ उनले कथा, पटकथा अर्थात स्टोली टेलिङ, क्यामरा, लाइट र सर्टको मुभमेन्टबारे पनि पत्रकारले कलम चलाउनु पर्ने सुझाव दिए ।
नेपालमा निकै चलेका चलचित्रमा पनि ब्याकरण नमिलेको र राम्रा चलचित्र पनि नचलेको बताउँदै उनले पात्र, गीत, डायलगबाट मात्र सिनेमा चल्ने जमाना नभएको बताए । ‘एउटा राम्रो सिनेमाले जहिले पनि समाजलाई राम्रो जीवन जिउन आउने अवरोधबारे सर्तक गराउँछ । कतिपय राम्रो चलेका सिनेमाको सन्देश नै के हो भन्ने स्पष्ट नभएको पाइन्छ’, उनले प्रष्ट पारे । पत्रकारहरुले निर्देशक पण्डितसँग राम्रा चलचित्रको समीक्षाबारे व्यापक छलफल गरेका थिए ।
निर्देशक पण्डितले नेपालमा लक्ष्य, दासढुंगा, बधशाला, ग्रेटर नेपाल, खाग, एक र छायाँजस्ता आधा दर्जन बढी चलचित्रको निर्देशन गरिसकेका छन् । फिल्म लेखन, निर्देशनसँगै फिल्म समीक्षकको अनुभव समेटेका पण्डितले सिनेमा मन्थन नामक पुस्तक पनि प्रकाशित गरेका छन्् ।
चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल कला सम्बन्धी समाचार लेख्ने पत्रकारको क्षमता अभिवृद्धि गर्न चलचित्रको समीक्षा लेखनबारे प्रशिक्षण दिएको बताउँछन् । संघले यसअघि चलचित्रको कथा लेखन सम्बन्धी कार्यशाला पनि आयोजना गरेको थियो ।