धावक सन्तोषी हाफ म्याराथनमा लगातार चौथो पटक विजयी
नेपालगन्ज : नेपाली राष्ट्रिय धावक सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनको महिला हाफ म्याराथनको उपाधि लगातार चौथो पटक जितेकी छन् । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा १० हजार मिटर दौडमा श्रेष्ठले स्वर्ण पदक जितिसकेकी छन् । उनले पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागी भइसकेकी छन् । शनिबार नेपालगन्जमा सम्पन्न नेपालगन्ज म्याराथनको दशौं संस्करणमा सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गर्दै महिला हाफ म्याराथनको उपाधि जितिन । उनले यसअघि उपाधिमा ह्याट्रिक गरेकी थिइन् ।
महिला हाफ म्याराथनमा निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पुष्पा भण्डारी दोस्रो र एक घण्टा ४९ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरेर विमला कार्की तेस्रो भइन् । विजेताले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरे ।
नेपालगन्ज म्याराथनको दशौं संस्करणमा नेपाली सेनाका खडकबहादुर खड्काले उपाधि हात पारे । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । उपाधी जितेका खड्का गत संस्करणका उपविजेता र त्यसभन्दा अघिल्लो संस्करणका विजेता हुन् । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा पूरा गरे । विजेताले क्रमशः दुई लाख, एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपालगन्ज म्याराथनमा पाँच किलोमिटर स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किमि ट्राइसाइकल र पाँच किमि वाकाथन लगायतका विधाहरु समावेश गरिएका थिए ।