जुनोटिक रोगबारे सरोकारवालाको चिन्ता

ठाकुरद्वारा (बर्दिया) : जुनोटिक रोगबारे सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।
सेन्टर फर डाइनामिक नेपालको सहयोगमा स्वास्थ्य लाइभ मिडियाले बर्दियाको ठाकुरगबा आयोजना गरेको जुनोटिक रोगबारे अन्तरक्रिया कार्यक्रममा मानव र वन्यजन्तु चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रतिनिधिहरुले जुनोटिक रोगविरुद्ध साझा कार्यक्रम बनाएर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जुनोटिक रोगको बारेमा जानकारी दिएका थिए । उनले जुनोटिक रोगबाट जोगिन मानव र पशु चिकित्सकले मिलेर काम गर्नुपर्ने बताए । बर्दिया राष्ट्रिय निकुञ्जका भेटनरी डाक्टर आयुष महर्जनले जुनोटिक रोगका कारण वन्यजन्तुमा महामारी आउने खतरा रहेको बताए । मध्यवर्ती क्षेत्रमा जुनोटिक रोग सर्ने सम्भावना बढी रहेकाले सर्तक रहनुपर्ने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख सुनिता पौडेलले वन्यजन्तु र मानव स्वास्थ्यका बारे मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोककुमार रामले निकुञ्जभित्र मरेका वन्यजन्तु कुन रोगले मरेका हुन् भन्नेबारे अब सोधिखोजी गरिने बताए । उनले भने, ‘बाघ मर्दा पनि हामी कुन रोगले मरेको हो भनेर खोजी गर्दैनौं । अबदेखि त्यस विषयमा गम्भीर भएर काम गर्नेछौं ।’

कार्यशालामा पत्रकार अर्जुन अधिकारीले जुनोटिक रोगबारे कस्ता कस्ता समाचार, कसरी लेख्ने भन्नेबारे प्रकाश पारेका थिए । बाघ, चितुवा जस्ता वन्यजन्तु मर्दा जुनोटिक रोगबारे खोजमूलक समाचार लेख्न पत्रकारलाई प्रेरित गरेका थिए ।
ठाकुरबाबा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कलमबहादुर विष्टले घरपालुवा जनावरबाट वन्यजन्तु र वन्यजन्तुबाट घरेलु जनावर र मान्छेमा सर्ने जुनोटिक रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।