क्रियाशील पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

नेपालगन्ज : क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेले पत्रकार सावित्री गिरीलाई अध्यक्ष चयन गरेको छ ।
डब्लुडब्लुुजेको शनिबार नेपालगन्जमा सम्पन्न १२औं साधारण सभा तथा छैठौं अधिवेशनले गिरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा विमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सह सचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित पनि सर्वसम्मत् भए ।
सदस्यहरुमा सुनिता वर्मा, साहिदा बानो, सरला बराल, सजल गैरे, सविता चन्द ठकुरी र मन्जु रिजाल रहेको ११ सदस्यीय कार्य समिति चयन भएको छ ।
यसअघि डब्लुडब्लुजे लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले अधिवेशनको उद्घाटन गरेकी थिइन् । प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाइन ।
डब्लुडब्लुजे बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता सम्पन्न उद्घाटन शत्रमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव सरला सुवेदी, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, उपाध्यक्ष करुणा शाह ,सञ्चारिका समूहका अध्यक्ष रुपनी जिएम, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, र क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल , लगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।
सो अवसरमा क्रियाशील पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा नेपाल पत्रकार महासंघको निर्वाचनमा संघ, प्रदेश र जिल्ला शाखामा निर्वाचित पत्रकार महिला र केही पदाधिकारीलाई सम्मान गरिएको थियो । अधिवेशनले निर्वतनमा कोषाध्यक्ष निशु जोशीले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत् रुपमा पारित गरेको थियो ।
नवनिर्वाचित कार्य समितिले आगामी दिनमा पत्रकार तथा श्रमजीवी महिलाका सवालमा निरन्तर सन्डे कल्ब गर्ने, फेलोसिप कार्यक्रम तथा तालिम सञ्चालन गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिइन् ।