नृत्य प्रतियोगितामा शहिद स्मारक मावि प्रथम
रमेशकुमार यादव । कम्दी
बाँकेको कम्दीस्थित शहिद स्मारक माध्यामिक विद्यालय सामूहिक र एकल नृत्य प्रतियोगितामा प्रथम भएको छ ।
डुडुवा गाउँपालिका ५ को हजरत बाबा कम्मर शाह दरगाह सरिफ उर्श मेला तथा सांस्कृतिक महोत्सवमा आयोजित सामूहिक लोक नृत्य तथा एकल नृत्य प्रतियोगितामा शहिद स्मारक प्रथम भएको हो । प्रतियोगितामा फ्लोेरिडा एकेडमी दोस्रो र नवदुर्गा विद्यालय तेस्रो भएको थियो । प्रतियोगितामा प्रथम टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई ६ हजार पाँच सय रुपैयाँ पुरस्कार मेला समितिका अध्यक्ष झंबहादुर थापाले वितरण गरेका थिए । प्रतियोगितामा बाँकेका ८ वटा विद्यालयको सहभागिता रहेको थियो ।
तीन दिने मेलाको शुक्रबार पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले उदघाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल अहिर, संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान लगायतको उपस्थिति रहेको थियो।