भेरीमै मिर्गौला प्रत्यारोपण हुने !

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले विशिष्टिकृत सेवा विस्तार गर्दै अब मिर्गौला प्रत्यारोपण सेवा दिने भएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सोमबार भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्री पौडेलले भेरीसहित सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना रहेको बताए ।
अंग प्रत्यारोपण सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरण भए एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा थालनी गर्ने भेरी अस्पतालले जनाएको छ ।

त्यसैगरी, भेरी अस्पतालले सिकलसेल एनिमियाका बिरामीका लागि छुट्टै वार्ड र अप्रेशन थियटर बनाएको छ । भेरी अस्पतालले सिकलसेल एनिमियाका बिरामीका लागि स्थापना गरेको छुट्टै वार्ड र अस्पतालको अत्याधुनिक अप्रेशन थियटरको स्वास्थ्य मन्त्री पौडेलले सोमबार उद्घाटन गरे । सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी, सिकलसेन एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा. राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारु लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपाय बारे धारणा राखेका थिए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा. डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनु पर्नेमा मन्त्री पौडेललाई ध्यानाकर्षण गरेका थिए ।