कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा, बिहीबारदेखि व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज : नेपाल राष्ट्र बैंकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको छ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । कर्णाली बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ ।
बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम् पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिइएको जनाएको छ ।
बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले बिहीबारदेखि नैसंस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिइ कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलन उपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको जनाइएको छ ।