डिजिटल मिडियामा महिला पत्रकारलाई अवसर नै अवसर !

नेपालगन्ज : परम्परागत आमसञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा अवसर नपाए पनि डिजिटल मिडियाले भने महिला पत्रकारलाई अवसर नै अवसर सिर्जना गरेको बाँकेका पत्रकारले ठम्याएका छन् ।
क्रियाशील पत्रकार महिला बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती विषयक सन्डे क्लब अन्तरक्रियाका सहभागी वक्ता पत्रकारले यस्तो सम्भावना देखेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले परम्परागत मिडियामा महिला सहभागिता रहे पनि नेतृत्वदायी भूमिकामा नरहेको स्वीकारे । मिडियामा महिला सहभागिता बृद्धिका लागि महासंघले पहल गर्ने अध्यक्ष चौलागाईले प्रतिबद्धता जनाए । उनले भने, ‘परम्परागत मिडियामा महिला पत्रकारले नेतृत्वदायी भूमिका पाएका छैनन् । डिजिटल मिडियामा त म महिला पत्रकारलाई चुनौती कम अवसर नै अवसर देख्छु । तपाईहरु यसको भरपूर सदुपयोग गर्नुस्् ।’
डिजिटल मिडियाले महिला पत्रकारका लागि अवसर सिर्जना गरिरहेको दाबी गर्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य झलक गैरेले त डिजिटल मिडियाको कन्टेन्ट क्रियटरको रुपमा महिला पत्रकारको कामको अभिभावकत्व लिन डब्लुडब्लुजे र नेपाल पत्रकार महासंघ बाँकेलाई आग्रह गरे ।
क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्वअध्यक्ष उमा थापा मगरले आर्थिक अभावकैै कारण मिडियामा महिला पत्रकारले निरन्तरता दिन नसकेको यर्थाथता दर्र्शाउँदै डिजिटल प्लेटफमको प्रयोग गरेर महिला पत्रकारले पत्रकारितामा दक्षता हासिल गर्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति निरज गौतमले भने महिला पत्रकारको सहभागिता बढाउन डिजिटल मिडियामार्फत क्षमता अभिवृद्धिको खाँचो औैल्याए ।

क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले डिजिटल मिडिया र महिला विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा धेरै महिलाले डिजिटल मिडियाबाट आयआर्जन गरिरहेकाले महिला पत्रकारका लागि डिजिटल मिडियाले आम्दानीको स्रोत खोज्ने सम्भावनाको ढोका खोलेको खनालको जिकिर थियो ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले महिला एजेण्डा केन्द्रीत बहस श्रृङ्खला सन्डे क्लब आयोजना गर्छ । डब्लुडब्लुज बाँके अध्यक्ष गिरी आगामी दिनका सन्डे कल्बलाई ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर बहस श्रृङ्खला सञ्चालन गर्ने योजना रहेको बताउँछिन् ।