राम्रो पत्रकार बन्न आध्यात्मिक ज्ञान किन ?

नेपालगन्ज : ‘आध्यात्मिकता भनेको मन्दिर धाउने, पूजापाठ गर्ने, यज्ञ गर्ने, ब्रत बस्ने, दान गरेर धर्म कमाउने मात्र होइन’, ॐ शान्तिकी साधक ब्रह्माकुमारी आरती बाँकेका पत्रकार माझ भन्दै थिइन्, ‘आध्यात्मिकताले त नकारात्मक विचारलाई सकारात्मक दृष्टिकोणले देख्न सक्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ बाँके शाखाले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जसँगको सहकार्यमा मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन विषयक अभिप्रेरणा कार्यक्रममा ॐ शान्तिको छिन्चु सुर्खेत शाखाकी प्रमुख आरतीले पत्रकार र आध्यात्मिकताको अन्तरसम्बन्धबारे यसरी प्रष्ट पारेकी हुन् ।
उनले पत्रकारितालाई नै आध्यात्मिक यात्रा भन्न भ्याइन । पत्रकारलाई आध्यात्मिक ज्ञान किन चाहिन्छ त ? उनको तर्क र चिन्ता थियो, ‘खोज अनुसन्धान गरेर अर्काको जीवनको डार्क साइट देख्ने पत्रकारले आफ्नै डार्क साइट देख्न पनि आध्यात्मिकता आवश्यक छ । अहिले पत्रकारको कार्य नकारात्मक जस्तो भयो भनेर आलोचना भइरहेकाले सकारात्मकताका लागि आध्यात्मिक यात्रा जरुरी छ ।’ अरुका लागि कलम चलाउने पत्रकारले आफ्ना लागि अन्तरमनको शान्ति महसुस गर्ने गरी नियमित रुपमा ध्यान गर्न उनले सुझाव पनि दिइन् । पत्रकारले कसरी सकारात्मक कुरालाई आत्मसात गर्दै उत्कृष्ट काम गर्न सकिन्छ भन्नेबारे अभ्यासबाट प्रष्ट पारेकी थिइन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जका प्रमुख तथा क्षेत्रीय उपाध्यक्ष ब्रह्माकुमारी दुर्गाले पनि सत्यतथ्य समाचार भन्दा भ्यूज बढाउने नाममा पत्रकार बदनाम भइरहेकोमा चिन्ता गर्दै पत्रकार पुल मात्र नभएर समाज, राष्ट्र र देश बनाउने आधार स्तम्भ नै भएको भन्दै प्रशंशा गरिन् । पत्रकारलाई किन आध्यात्मिक ज्ञान आवश्यक छ भन्नेमा उनको मत थियो, ’पत्रकारले तनावमा काम गर्दा नकारात्मकता बढी आउँछ । तनाव व्यवस्थापन गर्न, मनलाई शान्त र पावरफूल राख्न ध्यान गर्न आवश्यक छ ।’
ब्रह्माकुमारी मुनाले जीवनमा परिवर्तन आवश्यक रहेको बताइन् । उनले चेन्जले चान्स ल्याएर आएको हुने दाबी गर्दै परिवर्तन नै प्रकृतिको नियम भएको बताइन् । उनले मनस्थितिलाई परिवर्तन गर्न सके परिस्थिति आफै ठीक हुने तर्क गरिन् । परिवर्तन नै नचाहने, परिवर्तन क्षणिक समयका लागि गरेर फेरि पूरानै अवस्थामा फर्किने मानवीय स्वभावबारे उनले पत्रकारलाई अभ्यास गराइकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नविन गिरी, पूर्वअध्यक्ष झलक गैरे, निरज गौतम र बाँके शाखा उपाध्यक्ष तिलक गाउँलेले सकारात्मक सोचका साथ आफूलाई बदल्न नसके पत्रकारको कलमले समाज बदल्न नसक्ने भएकाले आध्यात्मिक ज्ञान आवश्यक रहेकोमा एकमत जनाएका थिए ।

कार्यक्रममा जिल्लाका ठूलो संख्याका पत्रकारहरुको सहभागिता रहेको थियो । जीवनोपयोगी आध्यात्मिक ज्ञान र ध्यान जान्न पत्रकारले झन्डै तीन घण्टा खर्चेका थिए ।