प्रादेशिक महोत्सव परिसरमै क्यान इन्फोटेकको ५औं संस्करण

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि आयोजना गर्न लागेको प्रादेशिक महोत्सव परिसरमै क्यान महासंघ बाँकेले ५औं संस्करणको क्यान इन्फोटेक सञ्चालन गर्ने भएको छ ।
बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा क्यान बाँकेका अध्यक्ष यज्ञराज जोशीले नेपालगन्ज उद्योग वाणिज्य संघसँग सम्झौता गरेर क्यान महासंघ बाँकेले महोत्सव परिसरमा क्यान इन्फोटेक लगाउन लागेको जानकारी दिए ।

क्यान इन्फोटेकमा सूचना प्रविधिसँग सम्बन्धी ३० वटा स्टल रहनेछन् । महासंघले क्यान इन्फोटेकबाट १५ देखी २० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ । महोत्सवमा विशेष छुट रहने आयोजकले जनाएको छ । ५ औं क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । महोत्सव उद्घाटन गर्न पूर्वप्रधानमन्त्री बुधबार नै विमानबाट सुर्खेत आइसकेका छन् । बिहान १० बजेदेखि संघको त्रिभुवन चोकस्थित कार्यालय परिसर अगाडिबाट झाँकी निस्कने र दिउँसो १ बजे प्रचण्डले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको धामीले जानकारी दिए ।