प्रादेशिक महोत्सवको प्रचारमा हात्ती र रथ (फोटो फिचर)
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको आयोजनामा बिहीबारदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ भव्य रुपमा सुरु भएको छ ।
महोत्सवको प्रचारमा नेपालगन्जमा हात्तीदेखि रथ यात्रा भयो । नेपालगन्ज उद्योग वाणिज्य संघको त्रिभुवन चोकस्थित कार्यालय नजिकबाट सुरु भएको महोत्सवको शोभा यात्रा धार्मिक, सांस्कृतिक पहिचान, परम्परागत भेषभुषा, बाजागाजासहितको झाँकी महोत्सवस्थल सडक विभाग परिसरसम्म पुगेको थियो ।
महोत्सवका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गरे ।
नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गरेका थिए ।
महोत्सवको पहिलो दिन जनवादी गायक जीवन शर्माले सिमली छाँयामा बसी…, झरनाको चिसो पानी…, मधेशी पहाडीजस्ता आधा दर्जन गीत गाएका थिए ।
अर्का गायक भगिरथ चलाउनेले पनि फलाम पिटे तरवार जस्ता गीतबाट मनोरञ्जन प्रदान गरेका थिए ।