प्रादेशिक महोेत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण
नेपालगन्ज : प्रादेशिक महोत्सव नेपालगन्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु ग्राहकको आकर्षणमा परेका छन् ।
अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाही ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेका छन् । उनको पसलमा हिमाली र पहाडी भेगका खाद्यान्न वस्तु, लसुन, खुर्सानी, डल्ले खुर्सानी, टिमुरको छोप, सेलरोटी, जुम्ली अर्सा बिक्री भइरहेको छ । सञ्चालक शाही भन्छिन्, ‘दैनिक औसत दश हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ ।’
महोत्सवको स्टलभित्र प्रवेश गर्ने वित्तिकै पैचो पसलको स्टल भेटिन्छ । यो स्टलको बसे पनि शहर, गाउँकै खाने रहर नारा लेखिएको छ । पैंचोमा स्वदेशी उत्पादनका धेरै खाद्य वस्तुहरु राखिएका छन् । जहाँ लुम्बिनी प्रदेशका पहाड र तराईका खाद्य वस्तुमा आधारित खाद्यवस्तु रहेका छन् ।
मीठो छ फुड प्रा.लि.की सविता शाह फिनी, सेलरोटी, खुर्मा लगायतका खाद्य वस्तुमा ग्राहकको आकर्षण भइरहेको बताउँछिन् । उनको पसलमा दैनिक चार हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताउँछिन् ।
नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बम फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नोको बिक्री बढिरहेको बताउँछिन् । उनको पसलमा ओखर, टिमूर, जिम्मु, च्याउ, सिन्कीलगायतका उत्पादन पनि रहेका छन् ।
हुम्लाको चंखेलीको घट्टेखोला मौरीपालन व्यवसायिक फर्मका हरिलाल बुढाले पनि सिमी, कोदो, चिनो, हाडे ओखर, भीर मौरीको मह बिक्रीमा राखिएको छ ।
बर्दियाको मधुवन ८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग बढी रहेको बताउँछिन् । उनको पसलमा चिप्स, दालमोठ, कुरकुरे, चना, केराउका उत्पादन स्टलमा राखिएका छन् ।
रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको पसलमा पनि जुम्ला, कालिकोट र बर्दियाका अर्गानिक खाद्य वस्तु स्टलमा राखिएका छन् । कोदो र फापरको पिठोमा बढी आकर्षण रहेको उनी बताउँछिन् ।
नेपालगन्ज २ बागेश्वरी टोलको आन्टीको अचार स्टलमा बयरको अचार, अकबरेको अचार, आँपको अचार, लप्सीको अचार, टिमुरको चटनी, सिध्रा, चिकन र बफ अचारहरु राखिएका छन् ।
महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा दैैनिक चौध पन्ध्र हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । संयोजक ढकाल पनि अर्र्गानिक खाद्यवस्तुका स्टलमा बढी बिक्री भइरहेको बताउँछन् ।
संघका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका स्टल बुकिङ समितिका संयोजक चिरञ्जीवी ओली लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्य वस्तुका स्टलमा अर्गानिक खाद्यवस्तु किन्नेको घुँइचो छ । महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खाद्य वस्तु लगायतका ३०० बढी स्टलहरु छन् ।