कोहलपुरको २८ बिघा अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण
नेपालगन्ज : कोहलपुर नगर विकास समितिले अतिक्रमणमा परेको २८ बिघा जग्गा फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरेको छ ।
कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहेका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष नीरक गुरुङलगायका प्रतिनिधिमण्डलको उपस्थितिमा आइतबार काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीलाई ध्यानाकषर्ण पत्र हस्तान्तरण गरेका हुन् ।
नगर विकास समितिको कोहलपुर-११ मा क्रिकेट मैदान आसपासको करिब २८ बिघा जग्गा लामो समयदेखि अतिक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएकोे नगर प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहितको स्टाटस लेखेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने दृढता ब्यक्त गरेको आचार्यले जनाएका छन् ।
प्रधानमन्त्री ओलीलाई उद्दृत गर्दै आचार्यले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले कसैले पनि अवैध रुपमा राज्यको सम्पत्ति अतिक्रमण र कुनै पनि अनियमता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।’
जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको हो ।