लुम्बिनी समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्षी एकै ठाउँमा छौं : मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासको निम्ति सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा भएको दाबी गरेका छन् ।
बोधि सञ्चार प्रा.लि.ले प्र्रकाशित गरेको समृद्ध लुम्बिनी विशेषाङ्कको आइतबार दाङमा लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले सात वर्षको अवधिमा अरु प्रदेशको तुलनामा लुम्बिनीमा केही नमुना काम गर्न सफल हुनुलाई सत्ता पक्ष र प्रतिपक्षबीचको एकता नै कारक भएको बताए ।

उनले भने, ‘लुम्बिनी प्रदेशको समृद्धि, विकास र प्रदेशलाई समुन्नत् बनाउने सवालमा हामी एउटै कित्तामा छौं । चाहे सत्ता पक्ष हुँदा होस् वा प्रतिपक्षमा हुँदा प्रदेश बनाउने सवालमा हाम्रो बोली एउटै छ । नारा एउटै छ । सेवा प्रवाह कसरी सुलभ बनाउने ? प्रमुख उद्देश्य, प्रमुख ध्येय त्यही छ ।’
प्रदेश सरकार गठन भएपछि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, मानव विकासलगायतका क्षेत्रमा उपलब्धी हासिल गरिएको उनले स्पष्ट पारे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले पनि विचार फरक भए पनि प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्ष सबैको साझा दृष्टिकोणबाट अघि बढेको बताए उनले भने, ‘प्रदेशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो सन्देश लुम्बिनीबाट दिएका छौं ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले समृद्ध नेपाल निर्माणका लागि पत्रकारलाई सकारात्मक समाचार लेख्न आग्रह गरे । ‘मिडियाले लेखेको धेरै कुरामा जनता भर पर्छन् । तपाईहरुले यदि सकारात्मक कुराहरु लेखिदिनुहुन्छ भने मान्छेहरुलाई धेरै असर गर्छ । सकारात्मक कुराले अर्थतन्त्रलाई माथि उकास्न मद्दत मिल्छ तर नकारात्मक कुरा प्रस्तुत गरिदिनुहुन्छ भने त्यसले अर्थतन्त्रलाई ओरालो यात्रा सुरु हुन्छ । समृद्ध नेपाल बनाउने काममा सकारात्मक समाचार लेखिदिनुस् ।’ उनले प्रदेश सरकारले सञ्चार ऐनको तयारी गरिरहेको जानकारी दिँदै एकदम छिटो सञ्चार ऐन जारी गर्ने प्रतिबद्धता जनाए ।

टक्सार म्यागजिनका सम्पादक किरण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध लुम्बिनी विशेषाङ्कका सम्पादन मण्डलका शंकरप्रसाद खनालले विशेषाङ्कको विषय र यसको महत्वबारे प्रकाश पारेका थिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले मिडियाको सशक्तीकरण र पत्रकारहरूको सीप अभिवृद्धिमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे । म्यागेजिनका कार्यकारी सम्पादक हिम बिष्टको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण निर्देशक प्रदीप आचार्यले गरेका थिए ।