महिला उद्यमीको प्रदेश स्तरीय प्रदर्शनी सुरु (फोटो फिचर)

नेपालगन्ज : महिला उद्यमी महासंघ नेपाल बाँके शाखाको आयोजनामा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ ।
बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा आयोजना गरिएको प्रदर्शनीको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेलको अध्यक्षतामा सम्पन्न उद््घाटन समारोहमा महासंघका लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका क्षेत्रीय निर्देशक प्रदिप छाजेड, कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगन्ज उप-महानगरपालिका निवर्तमान उप–प्रमुख उमा थापा मगर, लायन्स इन्टरनेशनलका पूर्व गर्र्भनर, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका २० का वडाध्यक्ष कौशलकुमार धोबीलगायतले प्रदर्शनीको सफलताको शुभमकामना दिएका थिए ।
प्रदर्शनीमा करिब ६० वटा स्टलमा १५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राखेका छन् । स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु रहेका छन् ।
प्रदर्शनीस्थलमै महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, बर्दियाको ठाकुरबाबा नगरपालिकाका उप प्रमुख विना भट्टाराई र महिला उद्यमीहरुबीच नेपाल टेलिभिजनकर्मी दुर्गाकुमारी भट्टले संवाद कार्यक्रम गर्ने जनाइएको छ ।